नेकपा एमाले होइन केपी बाको पार्टी हो : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले केपी ओलीको निजी आदेश चल्ने गरेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले नेकपा एमाले ‘केपी बा’को पार्टी भएको र त्यहाँ उनको मात्र आदेश चल्ने भन्दै कम्युनिस्ट पार्टीको चरित्र गुमाएको बताए ।
उनले भने, ‘नेकपा एमाले पार्टी नेकपा एमाले होइन, ‘केपी बा’को पार्टी हो । केपी बा को पार्टी भएको हुनाले उहाँको त्यहाँ आदेश चल्छ । कम्युनिस्ट पार्टीको चरित्र गुमाएको छ । उहाँको निजी आदेश मात्र चल्छ । उहाँले जुन विचार भन्नुहुन्छ, निर्देशन दिनुहुन्छ, निर्णय गर्नुहुन्छ त्यसको पालन मात्र गर्नुपर्ने हुन्छ । अरू कुनै विकल्प छैन । त्यसैले त्यो पार्टी पार्टीका रुपमा छैन ।’
उनले पद ओगटेर बसेर र गफ गरेर पार्टी नबढ्ने भन्दै गाउँ गाउँमा गएर जनताको समस्या उजागर गर्ने काममा लाग्नुपर्ने पनि उनको भनाइ छ ।