महामन्त्री गगन थापा: तत्काल सरकार फेरबदल हुँदैन

Getting your Trinity Audio player ready...
|
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तत्कार सरकार फेरबदल नहुने स्पष्ट पारेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्र को विमोचन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो धारणा व्यक्त गरेका हुन्।
सञ्चारकर्मीले उनलाई मन्त्रिमण्डल फेरबदल र गृहमन्त्री बन्ने चर्चा सम्बन्धी प्रश्न गर्दा उनले भने, “सरकारको कुनै फेरबदल अहिले हुँदैन।”
थापाले वर्तमान सरकारले अपेक्षित स्तरको सेवा प्रवाह गर्न नसकेको स्वीकारे।
“सरकार राम्रोसँग चलिरहेको छ। तर, सरकारले जनताले लिएको आशाअनुरूप डेलिभरी गर्न सकेको छैन,” उनले भने।
सरकारका कमीकमजोरीबारे प्रधानमन्त्री सचेत रहेको बताउँदै थापाले भने, “प्रधानमन्त्रीले सरकारलाई कुद्नुपर्ने गतिमा चलाउने जिम्मेवारी पूरा गर्न आवश्यक छ।”
सरकारले आफ्नो कार्यक्षमता सुधार गर्नुपर्ने र जनताका अपेक्षाअनुरूप सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए। “सबैभन्दा पहिला त मलाई महसुस भएको छ कि सरकारले गर्नुपर्ने डेलिभरी तीव्र र प्रभावकारी हुन आवश्यक छ,” थापाले भने।