नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले यस वर्ष दशैँतिहारलाई लक्षित गरी नयाँ नोट मुद्रण नगर्ने निर्णय गरेसँगै नोट सटहीको चापमा उल्लेखनीय गिरावट आएको छ।
गत वर्ष काठमाडौँ उपत्यकामा मात्र १४.५ अर्ब र देशभर २९ अर्ब नयाँ नोट सटही गरिएको थियो। तर, यस वर्ष नयाँ नोट सटहीको चाप करिब ४ अर्बमा सीमित भएको छ, जसले झण्डै २५ अर्बको कमीलाई दर्शाउँछ।
राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंकका मातहतका कार्यालयबाट करिब २ अर्ब र अन्य बैंकरबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान गरिएको छ।
नयाँ नोट मुद्रण नगर्दा त्यसका लागि हुने खर्च बचत भएको छ, र सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट पनि बैंकले व्यहोर्नु परेन। भट्टराईले अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि झण्डै डेढ अर्ब खर्च भएको उल्लेख गरे।
“नेपालमा ६६ लाख घरपरिवार छन्। तीमध्ये ५० प्रतिशत अर्थात् ३३ लाख परिवारलाई नयाँ नोट सटहीको पहुँच नहुने हुँदा विभिन्न दरका नोट छाप्न छ अर्बसम्म खर्च हुनेछ,” उनले भने।
यस वर्ष राष्ट्र बैंकले नयाँ नोट मुद्रण नगरी चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ। बैंकको उक्त नीतिअनुसार यस वर्षको दशैँतिहार र अन्य चाडपर्वमा चलनचल्तीका सुकिला नोटको प्रयोग गरिनेछ।
नयाँ नोट विशेषगरी चाडपर्वका समयमा मात्र अत्यधिक माग हुने भएकाले, त्यसपछि बैंकका ढुकुटीमा थुप्रिने जोखिम कम गर्न राष्ट्र बैंकले सुकिला नोटको प्रयोगलाई प्रोत्साहित गरेको हो।
प्रत्येक वर्ष चाडपर्वमा नयाँ नोट छापिने र त्यसपछि ती नोट बैंकको ढुकुटीमा थुप्रिनुका कारण राष्ट्र बैंकले यस वर्ष चल्ने हदसम्म त्यस्ता नोटको सदुपयोग गर्ने निर्णय गरेको भट्टराईको भनाइ छ।
पुराना नोट थिचिएर र ओसिएर स्वतः नष्ट हुँदै जाने भएकाले प्रयोग गर्न सकिने हदसम्म चलनचल्तीकै नोटलाई अधिकतम प्रयोग गर्न यो निर्णय लिएको उहाँले बताए।
राष्ट्र बैंकले चलनचल्तीकै नोट प्रयोगमा जोड दिएसँगै सटहीमा हुने चाप कम हुने र नयाँ नोटका नाममा हुने फजूल खर्च पनि केही हदसम्म रोकिने अपेक्षा गरिएको छ। गत वर्षको तुलनामा तीन गुणा बढी नोट हाल बजारमा र बैंकका ढुकुटीमा मौज्दात रहेकाले पनि नयाँ नोट निकाल्न नपर्ने भएको भट्टराईको तर्क छ।
उनले भने, “नयाँ होस् या पुरानो, नोटको मूल्य र महत्त्व एउटै हुन्छ। नयाँ नोटको नाममा राज्यलाई अतिरिक्त आर्थिक भार थप्न हुँदैन।” सफा र सुकिला नोटको प्रयोगलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिए र आगामी वर्षमा चलनचल्तीमा रहेका सुकिला नोटको प्रयोग बढ्ने विश्वास व्यक्त गरे।