समाजवादको भविष्यमाथि बुद्धिजीवी परिषद्को संवाद
काठमाडौं । एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्ले विश्व सामाजिक फोरममा ‘समाजवादको भविष्य : समृद्ध समाजवाद’ विषयक संवाद कार्यक्रम गर्ने भएको छ ।
आगामी फागुन ३ गते हुने संवाद हुने परिषद्ले बुधबार राजधानीमा आयोजित कार्यक्रममा जनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अन्य पार्टीका शीर्ष नेताहरुलाई वक्ताका रुपमा आमन्त्रण गरिने परिषद्का अध्यक्ष प्राध्यापक डा. दीनेशचन्द्र देवकोटाले बताए ।
उनले भने, ‘नेपाल बुद्धिजीवी परिषद्ले वल्र्ड सोसियल फोरममा ‘समाजवादको भविष्य : समाजवामाथि प्रहार’ विषय साइड इभेन्ट गर्दै छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने छ । वक्ताको रुपमा अन्य दलका नेताहरुलाई राख्न शीर्ष तहमा छलफल जारी राखेका छौं ।’
कार्यक्रममा माक्र्सवादी दृष्टिकोण राख्ने वामपन्थी वुद्धिजीवीहरु राखेर अहिले आक्रान्त बनिरहेको समाजवाद र पुँजीवादलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल हुने अध्यक्ष देवकोटाले बताए ।
एमालेले अंगीकार गरेको जबज (जनताको बहुदलीय जनवाद) लाई थप परिष्कृत बनाइ समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाइ छ ।
एमाले सांसद विद्या भट्टराईले पुँजीवादमाथिको संकटले सिंगो मुलुकलाई नै समस्यामा पारेको बताउँदै अहिले लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताइन् ।
उनले भनिन्, ‘आज पुँजीवाद संकटमा छ । त्यो पुँजीवादको संकटले सिंगो मुलुकलाई पनि संकटमा परेको छ । हिजोसम्म हामीले भन्थ्यौं गणतन्त्र उत्कृष्ट व्यवस्था हो, गणतन्त्रले समाजलाई बदल्न सक्छ भन्यौ । तर, आज त्यही गणतन्त्रमाथि थुप्रै प्रश्नहरु उठिरहेका छन् ।’
हरेक व्यवस्थामा प्रश्न उठ्ने भए पनि उत्तर दिन सक्ने व्यवस्था नभएपछि मुलुक संकटमा जाने उनको भनाइ छ ।















