मानव अधिकारको सम्मान उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
सिंहदरबारमा मंगलबार आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा उनले मानव अधिकारसँग सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको बताए ।
उनले भने, ‘नेपालको संविधान, कानुन, आवधिक योजना, सरकारका नीति तथा कार्यक्रम, संस्थागत व्यवस्था सबैको आधारस्तम्भ मानव अधिकार नै हो । मानव अधिकारबिना मानवीय मर्यादा, मूल्य मान्यता र मानव सभ्यताको संरक्षण हुन नसक्ने यथार्थतालाई सरकारले स्वीकार गरेको छ ।’
मानव अधिकारसँग सम्बन्धित अधिकांश अधिकार संविधानको मौलिक हकका समावेश गरिएको उल्लेख गर्दै उनले मानव अधिकारको संरक्षण र सम्बर्धनको जिम्मेवारीसहित प्रभावकारी अनुगमन र सुपरिवेक्षण गर्ने राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूको स्थापना भएको बताए ।
उनले भने, ‘मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्धन गैरसरकारी संस्था, नागरिक समाजसँगको समन्वयात्मक रूपमा मात्र सफल हुने कार्य भएको हुँदा मानव अधिकारको क्षेत्रमा सम्बद्ध क्रियाशील निकायको महत्वपूर्ण भूमिकालाई उपयोग गरी विभिन्न चेतनामूलक कार्यक्रमहरू सशक्त बनाइएका छन् ।’














