संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त
काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्त शैलजा रेग्मी भट्टराईले जानकारी दिइन ।
महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर उनलाई महासचिवमा नियुक्त गरेका हुन् ।
गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।
तर, तत्कालिन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधि सभाको सचिव पदबाट राजिनामा नदिएको कारणलाई देखाउँदै राष्ट्रपति पौडेलले रीत नपुगेको भन्दै सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन् ।
यसबीचमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नियुक्ति सिफारिस कार्यान्वयन नभएको भनी स्मरण पत्र लेखेका थिए । माघ ३ गते गएको स्मरण पत्र र प्रतिनिधि सभाको सचिवबाट आज पाण्डेयले गरेको राजीनामा समेतलाई आधार मानेर उनलाई सिफारिस अनुसार नियुक्ति गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।














