नेपाली पत्रकारितालाई राजनीतिक नेतृत्वले प्रयोग मात्रै गरे’

काठमाडौँ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक नेतृत्वले आफ्नो स्वार्थ अनुकूल पत्रकारितालाई प्रयोग मात्र गरेको तर पत्रकारिता क्षेत्र समस्यामा पर्दा साथ नदिएको बताएका छन् ।
सोमबार प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर काठमाडौँमा आयोजित कार्यक्रममा उनले अहिले साँच्चै पत्रकारिता जगत समस्यामा परेको बताए । राजनीतिक नेतृत्वले पत्रकारितालाई आफू अनुकूल प्रयोग गर्दै आएर यो क्षेत्रको विकास र सम्बर्धनमा बेवास्ता गरेको आरोप उनले लगाए ।
‘नेपाली पत्रकारिता साँच्चै अप्ठ्यारोमा छ । राजनीतिक नेतृत्वले सजिलैसँग हामी यो क्षेत्रको विकास र सम्बर्धनको लागि लाग्छौँ भनेको सुनिन्छ । सधैँभरि प्रयोग मात्रै गर्ने, आफूलाई अप्ठेरो र संकटमा परेको बेलामा साथ लिन खोज्ने, तर पत्रकारिता अप्ठेरोमा परेको बेला केही गर्न नसक्ने ठिक्क पर्यो भने जस्तै जस्तै भन्ने प्रवृत्ति देखिएको छ । यसमा हामी गम्भीर हुनुपर्छ,’ बस्नेतले भने ।
बस्नेतले पत्रकारिता नजोगिए सरकार र राजनीति समेत नजोगिने जिकिर गरे । ‘पत्रकारिता जोगिए मात्रै राजनीति जोगिन्छ सरकार पनि जोगिन्छ,’ उनले भने ।
सरकारले अहिले कानुन निर्माणको तहमा कतिपय गम्भीर खालका प्रावधानहरू पत्रकारितालाई समस्या पार्ने गरी ल्याउन लागेको भन्दै उनले यस्ता गतिविधि सरकारी तहबाटै हुन लाग्यो भने प्रेस चौतारीलगायतका संगठनहरु सजग बन्नुपर्ने बताए ।
नयाँ मिडियाले पत्रकारितालाई चुनौती दिइरहेको बताएका बस्नेतले यसलाई चुनौतीसँगै अवसरका रूपमा लिएर पत्रकारितालाई विकास गर्नुपर्नेमा जोड दिए । त्यसका लागि प्रेस काउन्सिलले आवश्यक सहयोग गर्ने आश्वासन उनले दिए ।