पोखरा महोत्सवमा प्रकाश दुतराज र भिटेन
पोखरा । पोखरामा जारी १२औँ संस्करणको पोखरा सडक महोत्सवमा भोलि प्रकाश दुतराज र भिटेनको प्रस्तुति रहने भएको छ ।
महोत्सवको नवौँ दिन शनिवार महोत्सवमा पछिल्लो समयका चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र साँझको लाइभ कन्सर्टमा युवाहरूबिच चर्चित भिटेनको प्रस्तुति रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए ।
दुतराजसँगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुति रहने छ ।
महोत्सवको आठौँ दिन आज महोत्सवमा एलिना चौहानको प्रस्तुतिमा दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए ।
चौहानले कुरा काट्नेले काटुन, धोकेबाज, के माया लाग्छ र, मिनरल वाटर, डेक्ची धोइदैन, छुनुमुनु लगायतका गीतहरू मार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिन । एलिना सँगै महोत्सवमा शुक्रवार जीवन दाहाल, शिवहरि ढुङ्गाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चापागाईँ, कमला गैरे, विनीता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुति रहेको थियो भने साँझको लाइभब्याण्ड तर्फ मन्त्र ब्यान्डको लाइभ कन्सर्टमा युवाहरू झुमेका थिए ।
महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा शुक्रवार मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ ।
शुक्रवार सम्पन्न प्रतियोगितामा मेरिगोल्ड, बाल कल्याण, राष्ट्रिय मावि बिचको प्रतिस्पर्धामा मेरिगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ ।
आठौँ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको र महोत्सवमा राखिएका स्टलहरूमा समेत उल्लेख्य मात्रामा कारोबार भइरहेको आयोजकले जनाएको छ ।















