पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे मेयर दाहालका दुई विकल्प
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गका विषयमा दुई विकल्प अघि सारेकी छन् । भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको रेलमार्गलाई त्यहाँबाट नभई अन्य दुई विकल्पका माध्यमबाट अघि बढाउन सकिने उनको प्रस्ताव छ ।
भरतपुर महानगरपालिकामा शनिवार नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालासहित सरोकारवालासँगको छलफलमा मेयर दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोला घाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने बताइन् ।
मन्त्री ज्वालालाई मेयर दाहालले रेलमार्गको कार्य स्थानीयसँगको सहयोग र सहकार्यबाट टुङ्गोमा पुर्याउनुपर्ने धारणा राखिन् । ‘रेल मार्गका लागि विकल्पहीन कुरा गर्न मिल्दैन,’ उनले भनिन्, ‘अहिलेको मार्गबाट धेरै क्षति पुग्छ भने हामीले नै अर्को विकल्प दिन सक्नुपर्छ । हामी रेलवे लाइन पनि चाहियो, भरतपुरमा रेलवे लाइन नहुँदा भरतपुर विकासबाट पछि पर्नेछ ।’
मेयर दाहालले अहिलेको विषयलाई पुन अवलोकन हुनुपर्यो भनी छिटोभन्दा छिटो स्थानीयको माग सम्बोधन गराउने उद्देश्यले सरोकारवालाबीच छलफल कार्यक्रम राखिएको प्रस्ट पारिन् केही दिनअघि प्रस्तावित मार्गमा रेल विभागको सर्भे गर्ने काम सुरु भएसँगै स्थानीयहरू आन्दोलित भई महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अहिलेका लागि प्रस्तावित रेल मार्गको कार्य स्थगित भएको बताए । केही दिनमा रेल विभागको महानिर्देशकसहित प्राविधिक टोलीले विकल्प दिएका रुटको बारेमा अध्ययन गर्ने मन्त्री ज्वालाले बताए । यस्ता आयोजनाहरू जनतासँगको छलफलको निष्कर्षपछि मात्रै अगाडि बढ्ने भएकाले तत्काल काम नहुने प्रस्ट पारे ।














