हुन्छ उन्नति मान्छेको
साथ सङ्कल्प सम्मान सत्बुद्धि सुविचारले
शिक्षा साहित्य संस्कार सन्तान सत्य सौखले
शक्ति साहस सङ्घर्ष सत्वाणी र सुशान्तिले
हुन्छ उन्नति मान्छेको शुभेच्छा शुभकर्मले १
सम्झना सिर्जना साथै सत्प्रेम साधना सदा
समानता सफा सादा सोच हुन् सब सम्पदा
सेवा सत्कार सद्धर्म शुद्ध सङ्लो स्वभावले
हुन्छ उन्नति मान्छेको शुभेच्छा शुभकर्मले २
शिल्प साधार साफल्य सानन्द र सच्चाइमा
सौहार्द्रता तथा सान शिष्टता र सफाइमा
स्नेह सद्गुण साकार सुधार सहयोगले
हुन्छ उन्नति मान्छेको शुभेच्छा शुभकर्मले ३
समर्पण र सामीप्य सहभाव सदासयी
सुसम्बन्ध सदाचार सचेतना तथा खुसी
श्रद्धा सन्तोष सौन्दर्य सुवासना सुस्पर्शले
हुन्छ उन्नति मान्छेको शुभेच्छा शुभकर्मले ४
छन्द-अनुष्टुप
मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका
















