भर्जिनियामा आजबाट ‘दिमाग खराब’, पहिलो सो नै हाउसफुल
भर्जिनिया। नेपाल र अन्य मुलुकमा सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘दिमाग खराब’ अमेरिकाको भर्जिनियामा आज (नोभेम्बर २६ तारिख) बाट प्रदर्शन हुने भएको छ।
नेपालमा ११ दिनमा सात करोड कमाएको दिमाग खराब मध्यपूर्वका देशमा पनि भव्यताका साथ प्रदर्शन भइरहेको छ।
अमेरिका र क्यानडामा इ पिक इन्टरटेन्टमेन्टले दिमाग खराब प्रदर्शनको अधिकार पाएको छ। इ पिकका सिइयो अभिजित राईका अनुसार भर्जिनियामा आइतबार र सोमवार गरी तीन सो हुने छ।
‘अमेरिका र क्यानडाका विभिन्न सहरमा पनि यो चलचित्र प्रदर्शन हुने छ हामी तालिका बनाउँदै छौ त्यो पनि सार्वजनिक गर्छौ।’ उनले भने।
फेयर फ्याक्समा रहेको सिनेमा आर्ट सेन्टरमा आइतबार दिउँसो चार बजे र साँझ सात बजे दिमाग खराब प्रदर्शन हुने छ। यसै गरी सोमबार साँझ सात बजे पनि दिमाग खराब हेर्न पाइने छ।
राईका अनुसार टिकट मूल्य बिस अमेरिकी डलर राखिएको छ। टिकट बिक्रीको दश प्रतिशत नेपाल अमेरिकन कम्युनिटी सेन्टरलाई प्रदान गरिने छ। आजको चार बजेको सोको टिकट सोल्ड आउट भएको राईले बताए।
नेपालको राजनैतिक विषय बस्तुलाई लिएर दिमाग खराब बनेको छ।
निश्चल बस्नेतले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की आदि कलाकारले अभिनय गरेका छन् ।
















