कोमाबाट फर्किएकी सृष्टिकाले ल्याइन नयाँ गीत ‘आइ वान्ट ब्याक यु’
मिशिगन/ नयाँ जीवन जिउँदै गरेकी १६ वर्षीय युवती सृष्टिका सुवेदीले ‘आइ वान्ट ब्याक यु’ बोलको गीत ल्याएकी छिन्।
अमेरिकाको मिशिगनमा बस्दै आएकी उनले आफ्नो पहिलो गीत स्टुडियोमा रेकर्ड गरेर युट्युब मार्फत दुई दिन अगाडि सार्वजनिक गरेकी हुन्।
सृष्टिकाका पिता सन्तोष सुवेदीका अनुसार अहिले उनको युट्युब च्यानल @sisisubedi मा यो गीत सुन्न सकिने छ। ‘छोरीको यो पहिलो प्रयास हो, हामी यही गीतमा चाँडै नै म्युजिक भिडियो बनाउने छौ।’ सन्तोषले भने।
उदयपुरको बेलका नगरपालिकामा सन् २००६ मा जन्मिएकी सृष्टिका दुई वर्षको उमेरमा अमेरिका आएकी हुन्।
सृष्टिका नयाँ जीवन जिउँदै गरेकी युवती हुन्। सिसी सुवेदी उपनाम रहेकी उनी सन २०१९ मा गम्भीर दुर्घटनामा परेकी थिएन।
जुलाई २१ तारिखको दुर्घटनाका कारण उनको मेरुदण्ड भाँचियो । कम्मर तीन ठाउँमा भाँचिएको थियो। कोमाबाट फर्कन तीन हप्ता लाग्यो। स्मरण शक्ति घटेको थियो। मोट चिल्ड्रेन्स अस्पताल एन आर्बर मिशिगनमा टीबीआइ (ट्रमा टिक ब्रेन इन्जुरी) को उपचार पछि दुई महिनामा डिस्चार्ज भइन।
पिता सन्तोषका अनुसार सृष्टिकाले चार वर्षको उमेर देखि गुनगुनाउन थालेकी हुन्। १३ वर्षको उमेरमा उनले गीत नै लेखेकी थिइन।
कार दुर्घटना पछि परिस्थितिले नयाँ मोड लियो। तर उनले हिम्मत हारिनन्। कोमामा जानु भन्दा अगाडिका योजना उनले पुरा गरेरै छोडिन्।
आफ्नै शब्द र सङ्गीतमा उनले ‘आइ वान्ट ब्याक यु’ मा स्वर दिइन।
















