नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफै सक्किन्छन् : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस सक्काउँछु भन्नेहरु आफै सकिने बताएका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले बिहीबार राजधानीमा विजया दशमीको पूर्व सन्ध्यामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको बलियो जग बसिसकेकाले कसैले षडयन्त्र गर्दैमा कांग्रेस कमजोर नहुने दावी गरे । पार्टीभित्र विगार्न चाहने भन्दा सपार्न चाहनेको संख्या अत्यधिक भएकाले सानोतिनो असमझदारीले पार्टीमा ठूलो क्षति नहुने बस्नेतले बताए ।
उनले भने, ‘ सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले गरेका काम र संगठनदेखि कम्युनिष्ठहरु आत्तिएका छन । उनीहरुले हाम्रै साथीहरुलाई लोभमा पारेर पार्टी कमजोर गर्न उक्साइरहेका छन् । उनीहरुको षडयन्त्रबाट बच्नु पर्छ । ’ कम्युनिष्टका मतियार र हतियार बनेर लाग्ने गरेकाहरुलाई पार्टीले कडा कारवाही गर्ने नेता बस्नेतले चेतावनी दिए । सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको जग बलियो भइसकेको दावी गर्दै कांग्रेस कमजोर पार्न कसैको तागत नभएको बस्नेतको दावी थियो । हिजोका दिनमा केही कमजोरी भएको भए त्यसलाई सच्याएर जाने तर गलत प्रवृतिसँग भने कहिल्यै घुडा नटेक्ने बस्नेतको चेतावनी थियो । आफूले ३ पटक निर्वाचित भएर ३ पटक मन्त्री भइसकेको बताउदै अव नयाँ पुस्ताको राजनीतिक भविश्य सुनिश्चित पार्नका लागि युवाहरुले नेपाली कांग्रेस बलियो बनाउदै लैजानु पर्ने बस्नेतले बताए ।











