अर्थतन्त्रको स्वरूप बदल्न जरुरी छ : पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौँ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अहिलेको अर्थतन्त्रको ट्रेन्डलाई बदल्न जरुरी भएको बताएका छन् ।
काठमाडौँमा बिहिवार आयोजित साना राज्य क्षमताहरू नकारात्मक प्रतिस्पर्धा र नेपालमा विदेशी नीति प्राथमिकता सम्बन्धी सेमिनारमा उनले दुई छिमेकी राष्ट्रको बढ्दो ठुला अर्थतन्त्रबाट फाइदा लिन सक्ने गरी अर्थतन्त्रको स्वरूप फेर्नु पर्ने बताएका हुन् ।
उनले नेपालको अर्थतन्त्रको हालको ट्रेन्डलाई बदल्न अमेरिका लगायतका ठुला शक्ति राष्ट्रको साथ चाहिने उल्लेख गरे । उनले दुई छिमेकीको बढ्दो ठुलो अर्थतन्त्रबाट नेपालले फाइदा लिन पूर्वाधार र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपालको पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँगै अर्थतन्त्रलाई गति दिन भारत र चीनको एकाएक करोड टुरिस्ट भित्र्याउने गरी कार्य गर्न आवश्यक रहेको भन्दै उनले थपे ‘हामी धेरै परको टुरिस्टको कुरा गछौं, नजिकको कुरा हामी छोडिरहेका छौँ । त्यसको लागि पूर्वाधार बनाउने उनीहरूले यहाँ खर्च गर्ने वातावरण बनाउनेतर्फ हामीले यहाँ कुरा गयौँ भने अलिकति अर्थतन्त्रको स्पेस देखिरहेको छ,यी दुई वटा अर्थतन्त्र बढ्दा खेरी । तर क्यापासिटि नहुँदा र हाम्रा सबै मान्छे त्यो अवसर नदेखेर बाहिर जाँदा हामी त्यसलाई पनि ट्याव गर्न नसक्ने परिस्थितिमा छौँ ।’
उनले नेपालमा चाइनिज वस्तु पहिला चाइनाबाट नेपाल आउने र भारतीयले पनि काठमाडौँबाट भारत लैजाने गरेकोमा हाल भारतबाट चाइनिज वस्तु नेपाल भित्रन थालेको भन्दै वस्तु आयातको बदलिँदो पछिल्लो अवस्थाबारे चिन्ता प्रकट गरे । हाल विदेशी मुद्रा संचितिदर राम्रै रहे पनि आर्थिक चुनौती यथावत् नै रहेको उनको भनाई छ ।
‘ऋणको चिन्ता छ हामीलाई नभएको होइन । विदेशी मुद्राकोपनि बेला मौका छ,तर यतिखेर विदेशी मुद्रा अहिलेको हिसाबले पुग्ने छ । किनभन्दा हाम्रा मान्छे बाहिर गइदिएका छन् उताबाट पठाएका छन् । त्यो हुनाले यतिखेर कुनै सङ्कट छैन । तर हामीलाई डोमेस्टिक ऋणको बढी भार पर्ने देख्दै छु म बाहिरको भन्दा । बाहिरको ऋण हाम्रो आउनै छोड्यो । हामी बजेटमा जति ऋण लिने भनेर घोषणा गर्छै, आर्थिक वर्षको अन्त्यमा २० देखि २५ प्रतिशत मात्रै विदेशी ऋण आउँछ । बढीमा पनि १०,१५ प्रतिशत भन्दा बढी ग्रान्ट आउनै छोड्यो । घोषणा गरे अनुसारको ग्रान्ट आउँदै आउँदैन । त्यस कारणले यस्ता जो चुनौती छन् ,यसले हामीलाई पनि एउटा चुनौती होला अरू कुराहरूमा चाहिँ तपाईँहरूको सहयोग हामीलाई चाहिन्छ ।’