अदालतमा भोलिबाटै अटोमेशन प्रक्रिया सुरु हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले, न्यायालयको सुधारका लागि भोलिबाटै अटोमेशन प्रणाली कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा आयोजित न्यायिक विषयमा छलफल एवं बधाई तथा शुभकामना कार्यक्रममा उनले, पेसी र तारिख तोक्दा प्रविधिबाट मात्रै तोकिने र मानव हस्तक्षेप नहुने हो भने न्यायालयका समस्या कम गर्न सकिने बताए ।
‘न्यायपालिका भित्र हुन सक्ने अनियमितताको कुरालाई विधिबाट सम्बोधन गर्नुपर्ने हुन्छ । सम्बोधन गर्ने क्रममा कति कुराहरू व्यवहारिक र सूक्ष्म रूपमा परक गर्नुपर्ने हुन्छ ।’ उनले भने ‘ प्रविधि मैत्री भयो भने समस्याहरू कम हुन्छ कि भनेर भोलि पेसी र तारिखमा अटोमेशनको सुरुवात सर्वोच्च अदालतबाटै गर्दै छौँ ।’
हरेक महिना पत्रकारहरूसँग संवाद गरी न्यायालयका समस्या कम गर्न प्रयास गर्ने उनको प्रतिबद्धता छ ।
न्यायपालिकाको समाचार प्रसार गर्दा संवेदनशील र सचेत भएर काम गर्न उनको पत्रकारसँग आग्रह छ ।
‘मेरो अनुरोध पत्रकारहरूसँग के छ भने न्यायपालिकाको समाचार प्रसार गर्दा संवेदनशील र सचेत भएर काम गर्नु पर्छ । न्यायपालिकाको अवस्था नाजुक नै छ । नागरिकले जे भने पनि विश्वास गर्ने अवस्था छ । न्यायालयको काम अलि कठिन हुन्छ ।’