अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कांग्रेसद्वारा ‘पोलिसी ह्याकाथोन’ घोषणा

ललितपुरं । नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘पोलिसी ह्याकाथोन’ आयोजनाको घोषणा गरेको छ ।
शनिबार पार्टी मुख्यालय सानेपा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले “गिग इकोनोमी“ र “क्लाईमेट एक्सन“ विषयमा ‘ह्याकाथोन’ आयोजनाको घोषणा गरेको हो ।
देश र विदेशमा रहेका जो कोही उत्साही नेपाली युवाले आफ्नो रचनात्मक विचार प्रस्तुत गर्न उक्त कार्यक्रममा सहभागी बन्न सक्ने पनि कांग्रेसको भनाइ छ ।
युवा र नीति निर्माण प्रक्रिया बीचको खाडल हटाउनको लागि ‘पोलिसी ह्याकाथोन’ कार्यक्रम ल्याएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी गराए ।
उनले भने ‘ नेपालको कुल जनसंख्याको अधिकांश हिस्सा ओगटेको युवा जनसंख्यालाई नीति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउँन नसकेको भन्दै युवा जनशक्तिमा भएको क्षमतालाई नेपाली कांग्रेसमा समावेश गराउँन उक्त कार्यक्रमको आयोजना गरेको बताए । ’
यो नीतिगत अन्तरले राष्ट्रलाई युवा जनसंख्याको प्रतिभा, दृष्टिकोण र ऊर्जाबाट वञ्चित गरेर समग्र र दिगो विकासमा बाधा पुर्याउँने भन्दै सहमहामन्त्री परियारले ‘पोलिसी ह्याकाथोन’ ले युवाहरूको उर्जा, रचनात्मकता र अन्तरदृष्टि संकलन गरेर राष्ट्र निमार्णमा सहयोग गर्ने बताए ।
यस ‘पोलिसी ह्याकाथोन’ मा सहभागी युवाहरुले “गिग इकोनोमी“ र “क्लाईमेट एक्सन“ सम्बन्धी नीतिगत मुद्धाहरुलाई पहिचान र सम्बोधन गर्न नविन समाधानहरुको खोजी गर्न सक्नेछन् । जसमा आफुले उठान गरेका विषयको अवस्था विष्लेषण, नीतिगत समस्या र चुनौती, समाधानका उपायहरु समावेश हुनेछन ।
आवेदकहरूले दुई विषय मध्ये कुनै एकमा नीति पत्र (अवधारणा पत्र) पेश गर्नु पर्नेछ । “गिग इकोनोमी“ तर्फ विकासशील ‘गिग’ अर्थतन्त्रमा नेपालले नीतिगत र नियमनको खाडललाई कसरी सम्बोधन गर्न र श्रम संरक्षण सुनिश्चित गर्न सक्छ ? सम्भावना र चुनौतीहरु के के छन् ?
नेपालले कसरी देशभर ‘गिग’ अर्थतन्त्रका फाइदाहरू विस्तार गर्न प्राविधिक अन्तर÷डिजिटल विभाजनलाई पूरा गर्न सक्छ ?
गिग इकोनोमीको निष्पक्ष र नैतिक अभ्यासहरूलाई बढावा दिन नेपालले कसरी वृहत नीतिगत रूपरेखा विकास गर्न सक्छ ?
नेपालको जनशक्तिमा सीप बढाउने गिग अर्थव्यवस्थाको सम्भावनालाई हामीले कसरी उपयोग गर्न सक्छौं ? जस्ता जिज्ञासाको सुझाव समेटिएको हुनुपर्नेछ ।
यस्तै नेपाल जलवायु परिवर्तनको असरबाट बढी जोखिममा परेको देश भएकोले जलवायु परिवर्तनका कारण उत्पन्न भएका अतिवृष्टि अनावृष्टि लगायतका अप्रत्यासित र अन्तर सम्बन्धित चुनौतीका कारण क्लाइमेट एक्सनबारे आफ्नो सुझाव दिनु पर्नेछ ।
सहभागीले जलवायु परिवर्तनका जोखिमलाई न्यूनीकरण गर्न, यसका बाधाहरू पार गरेर र प्रभावकारी कार्यान्वयन गर्न नीतिगत खाडल के छ र कस्ता रणनीतिहरू बढाएर नेपालले कसरी जलवायु वित्त पहुँच बढाउन सक्छ ?
नेपालले विपद् जोखिम न्यूनीकरण नीतिहरूका कमजोरीहरूलाई सम्बोधन गरेर कसरी बलियो बनाउन सक्छ ?
नेपाललाई जीवाष्म इन्धन खपतबाट नवीकरणीय र स्वच्छ ऊर्जामा कसरी परिवर्तन गर्न सकिन्छ ? जस्ता प्रश्नमा केन्द्रित रहेर सुुझाव दिनुपर्नेछ ।
ह्याकाथोनको प्रथम विजेताले ३ लाख, द्धितीय हुनेले १ लाख ५० हजार र तृतीय हुनेले ५० हजार प्राप्त गर्नेछन् ।
नेपाल न्युज बैक