शीर्ष तीन दलको बैठक एक घण्टाको लागि स्थगित

काठमाडौं । संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बोलाएको तीन दलको शीर्ष नेताहरुको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।
सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरू बीचको छलफल टुंगोमा नपुगेपनि सकारात्मक भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले भने, ‘बैठक अहिले फेरि साँढे तीन बजे पुनः बस्ने गरेर हामी उठेका छौं । र हाउस चल्नुपर्छ अवरुद्ध हुनुहुँदैन धेरै महत्वपूर्ण कामहरु गर्नुपर्ने छ । ति सबै काम सम्पादन गर्नको लागि सदन चल्नुपर्छ र सहमतिको साथ अगाडि बढ्नुपर्छ भन्ने कुरामा हामी सबै एकै ठाउँमा छौं । सहमति छ नेताहरुको बिचमा ।’
यसैबीच प्रतिनिधि सभाको आजको बैठक चार बजेसम्मको लागि सार्ने र पुनः एक घण्टापछि बैठक बसेर शीर्ष नेताहरुको बीचमा छलफल पछि सदन चलाउने निर्णय भएको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।