आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार आज -आइतबार_बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
हाल देशभर मौसम आंशिक देखि सामान्य बदली रहि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
आज राती देशभर मौसम आंशिक देखि सामान्य बदली रहनेछ।
आइतबार राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकोले मनसुनि वर्षा विस्तारै घट्दै गएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्लेमा ५२ दशमलव ५ मिलिमिटर भएको छ । यस्तै दिपायलमा ५१ दशमलव ९,पोखरामा ४४ दशमलव ९,डडेलधुरामा १५ दशमलव २, विराटनगरमा ११ दशमलव ९र काठमाडौंमा ३ मिलिमिटर वर्षा मापन भएको छ ।