शरणार्थी प्रकरणका आरोपीलाई निलम्बन गर्न के को द्विविधा ?

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले भुटानी शरणार्थी प्रकरणमा आरोप लागेको व्यक्तिलाई निलम्बन गर्नु पर्ने माग गरेका छन् ।
नेपाली काँग्रेसको केन्द्रीय समितिको जारी बैठकमा केन्द्रीय सदस्य सिवाकोटीले यदि शरणार्थी प्रकरणमा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणप्रति अन्याय भएको हो भने सरकार छाड्नु पर्ने बताए ।
उनले भने ‘ काँग्रेस प्रचण्ड नेतृत्वको सरकारमा छ। यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई अलग अलग आरोपमा पुर्पक्षका लागि थुनामा पठाएको छ । सभापतिज्यू यो प्रकरणमा हाम्रो द्विविधा अचम्मकै छ । वरिष्ठ केन्द्रीय सदस्य खाँणप्रति अन्याय भयो भन्ने हो भने काँग्रेस सरकारबाट हट्नु पर्यो। होइन भने आफ्नै साथीहरू संलग्न सरकारले थुनामा पठाउँदा आरोपीहरू निलम्बन गर्नुपर्छ कि पर्दैन। ’
केन्द्रीय सदस्य खाँणले नेपाली काँग्रेसका कार्यकर्ता कहिल्यै पनि भ्रष्टाचारको पक्षपोषण नगरेको स्मरण गराए ।
उनले भने ‘ कांग्रेसका कार्यकर्ताहरू कुनै पनि भ्रष्टाचारको विषयलाई पृष्ठपोषण गर्न सक्दैनन्। बरु बाघले खाए खाओस् तर कुनै पनि भ्रष्टाचारलाई काँध थाप्न सक्दैनन् र हुँदैन पनि। तर, भ्रष्टाचार हो होइन भन्ने जिम्मा लगाउन अदालतलाई छाड्दिनुपर्छ। यस्तै प्रकरणमा व्यक्ति स्वयम् जबाफदेही हुनुपर्छ । ’