अन्तरजातीय विवाह गरेका जोडिको गुनासो : हामीलाई छुटाउन कुटपिटसम्म गरियो

काठमाडौं । अन्तर जातीय विवाह गरेका कैलालीका एक दम्पतीले माईती पक्षले निरन्तर मानसिक यातना दिएको गुनासो गरेको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरस्वती र सुरेशले भागी विवाहपछि आफूहरुमाथि निरन्तर माइती पक्षबाट शारीरिक र मानसिक यातना दिने काम भएको गुनासो गरेका हुन् । ६ महिनाअघि भागी विवाह गरेका कैलालीका सुरेश विश्वकर्मा र सरस्वती खड्कालाई विवाहपछि पहिलो पटक बाबुले काठमाडौंमा भेटेर कोठामा बोलाएर कुटपिट गरेको उनीहरुको आरोप छ ।
सरस्वतीले बाबुले भेटेर कोठामा लिएर गएको र सरसल्लाहको लागि सुरेशलाई पनि बोलाउन भनेको बताईन्। सुरेशलाई बाबुले कुराकानीकै क्रममा हिँड्दैगर्दा पशुपतिको जंगलतिर लगेर कुटेको आरोप समेत लगाइन् ।
पशुपतिमाथिको जंगलमा लगेर सुरेशलाई भाई र बाबु भएर कुटपिट गरेको सरस्वतीको आरोप छ ।
उनले भनिन् ‘कुराकानीकै क्रममा बुवाले मिठो मिठो कुरा गर्दै हिड्दैहिँड्दै पशुपतिको माथिको जंगलतिर लानुभयो । जब जंगलको बीचमा पुगेपछि मेरो भाई र बुवा भएर मेरो श्रीमानलाई हातपात गर्नुभयो । सबै कुरा मिलाउँछु र तिमीहरुले जे गरेपनि ठिकै छ, जे नहुनु थियो, गरिहाल्यौ भन्दै सम्झाएको मान्छेले एक्कासी जंगलकोबीचमा लगेर कुटपिट गर्न थालेपछि म चिच्चाएँ ।’
सरस्वतीले माईती पक्षले बारम्बार धम्की दिने र कोठामा गएरै तालाचावी फोड्नेसम्मको हर्कतपछि अहिले गाउँकै भाई पर्नेको कोठामा शरण लिएर बसेको बताईन् ।
सरस्वतीले आफू र आफ्नो श्रीमानलाई सुरक्षित बाँच्न पाउने वातावरण मिलाईदिन सरोकारवालसमक्ष आग्रह गरेकी छन् ।
गौशला प्रहरी, माली गाउँ र जगाती प्रहरी कार्यालयले आफूहरुलाई उजुरी लिएर जाँदापनि उल्टै हिनताबोध हुने कुरा गरेर पठाएको उनको आरोप छ । कानूनमा अन्तरजातीय विवाहमा विभेद नभएपनि आफूहरुले प्रहरी प्रशासनबाट समेत विभेद सहन परेको उनीहरुको गुनासो छ ।
उनले भने, ‘समस्या पर्दा प्रहरीहरुले सहयोग गर्छन्, प्रहरीकोमा जानुपर्छ भन्ने हाम्रो मनमा धारणा हुन्छ । तिमीलाई अलिकति पनि लाज लाग्दैन ? तिमी मेरो प्रेमी हो, मैले विवाह गरेर आएँ भन्दैछौं तर तिम्रो एकछिनको रोमान्समात्रै हो । जिन्दगी चल्दैन भनेर मलाई भन्नुभयो ।’
यस्तै, दलितका लागि दलित अभियानका अभियान्ता प्रकाश विक र राजु सुनुवारले अन्तरजातीय विवाह पनि सामन्य प्रक्रिया हो भन्ने सन्देश दिन आवश्यक रहेको बताएका छन् ।
समाजले कोल्टे फेरिसक्दा पनि जातीय समस्या जस्ताको तस्तै रहेको पनि उनिहरुको भनाई छ ।