समाजमा अराजकता फैल्याउनेविरुद्ध लड्न एमाले कार्यकर्तालाई ईश्वर पोखरेलको आग्रह
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजमा अराजकता फैल्याउने र देशको अर्थतन्त्र खतम पार्नेहरुका विरुद्धमा एमाले कार्यकर्ता सक्रिय भएर लाग्नु पर्ने बताएका छन् ।
काठमाडौं महानगर कमिटी जननेता क.मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेले समाजमा अराजकता नसहने भन्दै अराजकता फैल्याउनेहरुका विरुद्धमा खबरदारी गर्ने बताए ।
उनले भने, समाजमा अराजकता फैल्याउने मान्छेहरु छन्, समाजमा असन्तुष्टि फैल्याउने मान्छेहरु छन्, देशको अर्थतन्त्रलाई बर्बाद गराउनको लागि लागिपरेका पात्रहरु पनि छन् । आज नेकपा एमालेका कार्यकर्ता सबैले समाजमा अराजकता फैल्याउनेहरुका विरुद्धमा खबरदारी गनुपर्ने छ । देशको अर्थतन्त्र खतम बनाउनेको विरुद्धमा लाग्नु पर्ने छ । समाजमा अराजकता सहदैनौ, उनीहरुलाई खबरदारी गर्छौ ।
यस्तै, वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको स्वार्थमा, हितमा र सरोकारका विषयहरुमा नेकपा एमाले सधैँ केन्दित रहेको भन्दै वृक्षरोपण लगायतका विभिन्न कार्यक्रम आयोजनाको मुख्य उद्देश्य पनि यही रहेको बताए ।
उनले भने, कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य जनताको स्वार्थमा, जनताको हितमा। जनताका सरोकारका विषयहरुमा नेकपा एमाले केन्द्रित हुन चाहन्छ । नेकपा एमाले जनताको स्वार्थभन्दा अरु कुनै कुरा देख्दैन्, त्यसकारण हामीले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा यो वृक्षरोपण कार्यक्रम आयोजना गरेका हौ ।’














