दश नयाँ शहर निर्माण गर्ने लक्ष्यमा सरकार छ : मन्त्री गुरुङ
काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले २० वर्षभित्र १ लाख जनसंख्या बस्न सक्ने १० वटा नयाँ सहर बनाउने लक्ष्य सरकारको प्राथमिकतामा रहेको बताएकी छिन् ।
राष्ट्रिय सभाको बैठक अन्र्तगत आज मन्त्रालयगत छलफलपछि उठेका प्रश्नको जवाफ दिँदै उनले हिमाल, तराई र पहाडमा रहेको जनसंख्याको असमानता र असन्तुलित विकासलाई व्यवस्थापन गर्नुका साथै तिव्र बसाईसराईलाई रोक्न शहरी सेवा सुविधासहितको नयाँ सहर विकासको लक्ष्यलाई प्राथमिकतामा राखेर निरन्तरता दिदैँ बजेट केन्द्रीत गरिएको बताईन् ।
उनले भनिन्, ‘ हिमाल, तराई र पहाडमा रहेको जनसंख्याको असमानता र असन्तुलित विकासलाई व्यवस्थापन गर्नुका साथै तीव्र बसाईसराईलाई रोक्न मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण राजमार्गको मिलन विन्दु वा आसपासमा शहरी सेवा सुविधासहितको नयाँ शहर विकास गरी २० वर्षभित्र प्रत्येक सहरमा १ लाख जनसंख्या बस्न सक्ने १० वटा नयाँ सहर बनाउने लक्ष्यसहित आर्थिक वर्ष २०६७, ६८ बाट सुरु गरिएको नयाँ सहर आयोजनालाई विशेष प्राथमिकताका साथ निरन्तरता दिदैँ बजेट केन्द्रीत गरिएको छ ।
यस्तै, उनले नगरपालिका प्रमुखको रुपमा १३ जना मात्रै महिलाहरु निर्वाचित भएको भन्दै महिला निर्वाचित भएका नगरपालिकाहरुलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताइन् ।
उनले भनिन्, ‘नगरपालिकाको छनोट गर्दा प्रादेशिक सन्तुलन मिलाउनुको साथै ७ सय ५३ वटा स्थानीयतहहरु मध्ये नगरपालिकाहरुमा १३ जना मात्रै महिलाहरु प्रमुखको रुपमा निर्वाचित हुनु भएको र त्यसैलाई प्राथमिकतामा राखेर नगर प्रमुखको रुपमा महिला निर्वाचित भएका नगरपालिकाहरुलाई विशेष प्राथमिकता दिइएको छ । ’
मन्त्री गुरुङले फोहोरमैला व्यवस्थापनका लागि स्थानिय सरकारलाई जिम्मेवार बनाउनु पर्छ भन्ने मन्त्रालयको धारणा रहेको पनि बताईन् ।














