प्रधानमन्त्रीको चीन भ्रमणमा उत्तरी नाकाका विषयमा कुरा हुन्छ : परराष्ट्र मन्त्री साउद

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले, प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको उत्तरी नाकामा देखिएका समस्या समाधानका लागि ठोस पहल हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले उत्तरी नाका नियमीत गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले भने ‘विशेष गरी उत्तरतिरका नाकाको विषयमा भूकम्पदेखि नै रेगुलेट हुन नसेको हो । भखरै रसुवा नाका खुलेको छ । त्यहाँ केही इस्युहरु छन् छलफल गरिने छ । तातोपानी नाका खोल्ने प्रयास भइरहेको छ । कोरोला नाकाको हकमा पनि दुइतीरको सडक पनि दुर्घटना नहुने खालको हुनुपर्छ ।’
उनले नाका खोल्ने विषयमा पटक पटक चीन सरकारसंग कुरा भएको बताएका छन् । प्रधानमन्त्रीको आगामी चीन भ्रमणका क्रममा यो विषयमा ठोस पहल हुने उनको भनाई छ ।
‘हामीले पटक पटक कुटनीतिक पहल गरेका छौं । हाम्रो चीन सरकारसंग छलफल भएको छ । आगामी प्रधानमन्त्रीको चीन भ्रमणको शिलशिलामा पनि यी नाकालाई अध्यावधिक गर्ने कुरामा विमर्स हुनेछ भन्ने कुरा म साथिहरुसंग राख्न चाहान्छु ।’
त्यस्तै नेपाललाई नयाँ एयर रुटको आवश्यकताबारे समेत सरकार गम्भीर रहेको बताएका उनले भने ‘यसका लागि सम्बन्धित निकायसंग छलफल भइरहेको म स्पष्ट पार्न चाहान्छु । ’
‘एयर इन्ट्रिको विषयमा पनि छलफल कुराकानी चलिराख्या छ’ उनले भने । छलफलमा पूर्व परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले, परराष्ट्र मामिला बाहिरबाट हेरेको जस्तो सजिलो नरहेको भन्दै चीन र भारतसंगको सम्बन्धलाई व्यवस्थित गर्नु पर्ने बताए ।
उनले भने ‘परराष्ट्र हामीले हेरेको जस्तो सरल छैन्, धेरै जटिल छ । उपत्यका बाहिर बाहिरबाट आउँने परिवर्तनका संकेतहरु छन् । त्यसलाई हामीले कसरी हाम्रो रेडरमा राख्ने, त्यसलाई अध्यन गर्ने, त्यसलाई हामीले कसरी डिल गर्न सक्छौ र इन्डिया र चाइना सम्बन्धको बीचमा हामीले कसरी ती कुराहरुलाई आफ्नो हितमा ल्याउने सबै कुराहरु छन् यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा महत्वपूर्ण छ ।’ उनले परराष्ट्र मामिलामा राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
‘परराष्ट्रले जतिसुकै कोशिस गरेपनि देशको राजनीतिक परिस्थिति जबसम्म ठिक हुदैँन्, एकमतले हुदैँन्, फाइल हुदैँन् । हामीले जतिसुकै काम गरपनि हामी कमजोर नै ठहरिन्छौ । यसलाई एउटा राष्ट्रिय आवाजको रुपमा हाम्रो पोलिसिहरुलाई लानको लागि पनि मन्त्रीले पहल गर्नुहुन्छ भन्न चाहान्छु ।’