पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न पहल भइरहेको छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न दातृ मुलुकहरुसँग कुरा भइरहेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले अहिलेसम्म गरेका कामहरुको जानकारी गराउन स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले दुर्गम क्षेत्रको स्वास्थ्य सेवा सुधारका लागि पनि कुराकानी भइरहेको बताए ।
उनले भने ‘ पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न रुस सरकारसँग समन्वय भईरहेको छ र राजदूतसँग पनि कुराकानी भएको छ । विशेष गरि दुर्गम क्षेत्रमा कसरी स्वास्थ्य सेवा उपलब्ध गराउने त्यसमा के मद्दत हुन्छ भन्ने विषयमा पनि छलफल र कुराकानी अगाडि बढाई रहेको छु । ’
बालबालिकामा हुने क्यान्सरको उपचारको लागि ३५ प्रकारका क्यान्सर विरुद्धका औषधिहरु निशूल्क उपलब्ध गराउन अमेरिका र नेपालका विज्ञहरुसँग गोष्ठी सम्पन्न गरि धुलिखेल घोषणा पत्र जारी भएको उल्लेख गर्दै साउनको १ गतेदेखि वीर अस्पतालमा विहान ८ बजेदेखि ओपीडी सञ्चालनमा ल्याउने गरि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
उनले डेँगु रोकथाम तथा नियन्त्रणको सम्बन्धमा प्रदेश तथा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको बताए ।
मन्त्री बस्नेतले गरीब तथा विपन्न नागरिकहरुको उपचारमा १० प्रतिशत शैया निशूल्क गर्नको लागि स्थानीय प्रादेशिक र संघीय स्थरगतका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुमा परिपत्र गरि संघ अन्तर्गतका अस्पतालहरुबाट कुल ३ हजार ५ सय २३ बेड निशूल्क उपलब्ध गराइएको जानकारी पनि दिए ।
निशुल्क व्यवस्था गरिएको बेडहरुमा वीर अस्पतालमा ७ सय, कान्तिमा २ सय ४८, शुक्रराजमा ६०, परोपकारमा ४ सय ५०, राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५०, शहीद गंगालाल राष्ट्रिय केन्द्रमा ९०, मानसिक अस्पतालमा ४०, कोशीमा ३ सय ३०, नारायणी अस्पतालमा २ सय ५५ , गजेन्द्र नारायण अस्पतालमा १ सय, भरतपूर अस्पतालमा ४ सय २०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ सय, भेरी अस्पतालमा ५० लगायतका अस्पतालमा रहेको जानकारी पनि मन्त्री बस्नेतले दिए ।