एसइईमा २२ हजार ४७५ ले ल्याए ए प्लस जिपिए
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको छ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका मध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जिपिए अङ्क ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए ।
नतिजाअनुसार ए प्लस वा ३.६० देखि ४ ग्रेड ल्याउनेको सङ्ख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलव ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।
नन ग्रेड ल्याउनेको सङ्ख्या २.८९ प्रतिशत अर्थात् १३ हजार ९९२ रहेको छ ।
आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शर्माले यस पटक गत सालभन्दा नतिजा सुधार देखिएको जानकारी दिए ।
देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेका थिए ।
जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका थिए भने प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।
विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ।
त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था छ।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ। नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरको वेबसाइट धधध।कभभ।नयख।लउ मा हेर्न सकिने बोर्डले जनाएको छ।















