प्रशासनिक मोडल निर्माणका लागि सहकार्य गर्न नेपाल तयार : मन्त्री मोदी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले दक्षिण कोरिया पुगेर युग सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागि विश्व समुदायसँग सहकार्य गर्न नेपाल तयार रहेको बताएका छन् ।
कोरियाली ग्रामीण विकास केन्द्र (सेमाउल)ले कोरियाको बुसानमा आयोजना गरेको ग्रामीण विकाससम्बन्धी विश्वका मन्त्री स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले युग सुहाउँदो प्रशासनिक मोडल निर्माण र रूपान्तरणमा नेपाल सहकार्यका लागि तयार रहेको उल्लेख गरे ।
मोदीले भने,“विश्व नै अहिले रूपान्तरणको चरणमा छ, आर्थिक भौतिक र मानव पुँजीको बिचमा खाडल छ, सबैतिरका प्रशासन र सम्बन्धहरू थप जटिल हुँदै गएको अवस्था छ, यस्तो युग सुहाउँदो प्रशासनिक मोडलमा निर्माण अनिवार्य बनेको छ, यसका लागि सहकार्य गर्न नेपाल सरकार तत्पर छ ।”
मन्त्री मोदीले नेपालमा सङ्घीय प्रणाली कार्यान्वयनको चरणमा रहेकाले सङ्घीयताको सुदृढीकरण र सबलीकरणका लागि नेपालले सेउमा नलको विकास प्रणालीबाट सिकेर अगाडि बढ्ने धारणा राखे ।
‘नेपालमा अहिले सङ्घीयता कार्यान्वयनको चरणमा छ, तपाईँहरूको अनुभव हाम्रा लागि पाठ हुन सक्छ, हामी सङ्घीयताको सबलीकरण र सुदृढीकरणका लागि हातेमालो गर्न तयार छौ, ‘नेपालका लागि सेमाउल एउटा प्रेरणाको स्रोत हो, हामी सेमाउलको विधिलाई पछ्याउँदै सङ्घीयतालाई बलियो बनाउने यात्रामा लाग्नेछौँ ।’
सम्मेलनमा ३३ देशका मन्त्रीसहित ४६ देशका प्रतिनिधि सहभागी रहेका छन् ।