काँग्रेस र कम्युनिस्टले देशमा ब्रम्हलुट मच्चाए : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काँग्रेस र कम्युनिस्ट पार्टीले देशमा ब्रम्हलुट मच्चाई रहेको आरोप लगाएका छन् ।
बुधवार काठमाडौँमा आयोजित जन वर्गीय सङ्गठनहरूको संयुक्त पदाधिकारी तथा सदस्य भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले काँग्रेस र कम्युनिस्टले हरतरहबाट देशलाई तहसनहस पारेको आरोप लगाए ।
उनले भने ‘ २०६३ साल पछि काँग्रेस र कम्युनिस्ट पार्टीले आलोपालो गरेर केही सीमित नेताहरूले सिन्डिकेट खडा गरेर देशमा भ्रष्टाचार ब्रम्हलुट गरिरहेका छन् । विदेशीको सामुन्ने लम्पसार परिरहेका छन् । नेपाली युवाहरूलाई रोजगारी दिन नसकेर विदेश पठाएका छन् । यो सबै कारणले गर्दा जनताले काँग्रेस र कम्युनिस्टलाई भोट हाल्दैनन् । ’
जनताले विकल्प खोजिरहेको र विगतमा काँग्रेस र कम्युनिस्टलाई भोट हालेकाहरू पनि अब आउने चुनावमा काँग्रेस र कम्युनिस्टलाई भोट नहाल्ने दाबी पनि अध्यक्ष थापाको थियो । उनले गएकै चुनाव र उपचुनावमा त्यसको सङ्केत देखिएको समेत बताए ।