गठबन्धनले कांग्रेसका थापालाई कोशी प्रदेशको मुख्य मन्त्री बनाउने

काठमाडौं । सत्ता गठबन्धनले कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्य मन्त्री बनाउने निर्णय गरेको छ ।
बालुवाटारमा सोमबार अपरान्ह बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा एसका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
‘अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ ।’ उनले भने, ‘कांग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सीट संख्या पनि उहाँहरुलाई नै पुर्याउने जिम्मेवारी दिएका छौं ।’
गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान भएको छ ।
९३ सदस्य कोशी प्रदेशमा बहुमत पुर्याउन ४७ सीट चाहिन्छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।
एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।
नयाँ सरकारलाई कोशीमा राप्रपाको साथ अनिवार्य छ ।