पहिचान पक्षधरको आन्दोलप्रति दिलमान पाख्रिनद्वारा कांग्रेसको धारणा माग
ललितपुर । पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनले पार्टी सभापति शेरवहादुर देउवासंग कोशी प्रदेशमा पहिचान पक्षधरको आन्दोलनप्रति पार्टीको स्पस्ट धारणा माग गरेका छन् ।
शुक्रबार ललितपुरमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको राष्ट्रिय प्रशिक्षण कार्यक्रममा नेता पाख्रिनले पहिचानको मुद्दा अझै रहेको भन्दै यस बारे पार्टी सभापति शेरबहादुर देउवासंग नेपाली कांग्रेसको स्पस्ट धारणा सार्वजनिक गर्न माग गरे । ‘अझै पनि पहिचानको मुद्दा छ,पूरा भएको छैन् भन्ने कुरा तपाई हामी सबैले महशुस गर्न जरुरी छ । नेपाली कांग्रेस पार्टीले यो देशको आदिवासी जनजाति लगायत सबै जाति वर्गलाई समान न्याय दिने हो भने कांग्रेसको अहिले कोशी प्रदेशमा भइरहेको आन्दोलनको विषयमा धारणा के हो ? त्यो आउनुपर्यो ।’
केन्द्रीय सदस्य पाख्रिनले एकै कार्यक्रममा रहेका पार्टी सभापतिलाई कोशीमा पहिचान पक्षधरले गरिरहेको आन्दोलनबारे पार्टीको स्पस्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दै नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानलाई यो आर्थिक वर्षको बजेटमा रकम नछुट्टाएको प्रति आक्रोस पनि पोखे ।
त्यस्तै उनले आदिवासी जनजातिको लागि संयुक्त राष्ट्रसंघबाट जारी १६९ को जनजातिका अधिकारलाई नेपाल सरकारले अनुगमन गर्नुपर्ने माग गरे । उनले उक्त अधिकारलाई नेपालले अनुमोदन गरेकाले नियमानुुसार प्रत्येक दुई वर्षमा बुझाउनुपर्ने रिपोर्ट बुझाउन पनि सरकारको ध्यानाकर्षण गराउँदै पार्टीभित्र देखिएको वेवास्तालाई अन्त्य गर्नुपर्ने धारणा राखे ।














