भृकुटीमण्डपको शैक्षिक मेला रोक्नु महानगरको अधिकार हो : रास्वपा सांसद झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले, भृकुटीमण्डपमा आयोजना गरिएको शैक्षिक मेला बन्द गर्नु काठमाडौं महानगरपालिकाको अधिकार भन्दै सर्मथन गरेका छन् ।
शिक्षा मन्त्रालयले अनुमति दिएर आयोजना गरिएको मेला महानगरले रोकेको भन्दै एमाले सांसदलले सदनको ध्यानाकर्षण गराए लगत्तै सांसद झाले त्यसप्रति आपत्ति जनाए ।
‘हामी विनीयोजन विधेयकमाथिको छलफलमा छौं । एक जना माननीय रोष्टममा पुगेर रोकिनु भएको छ । मेला रोकिएको हिजो नै हो आज होइन । सदन नै किन रोक्ने ।’ उनले भने ‘हामी त नयाँ छौं सदनमा पुरानो दलले के सिकाउन खोज्दैछ हामीलाई, त्यसैले यसमा मेरो घोर आपत्ति छ ।’
त्यस्तै उनले मेला रोक्ने महानगरपालिको निर्णय नियमसंगत भएको समेत दाबी गरे ।
उनले भने ‘हिजो नै रोकिएको मेला त्यो पनि स्थानीय निकायको नियमावली अनुसार नै रोकिएको छ । त्यसमा अहिले हाम्रो माननीय सदस्यलाई बोल्न रोकेर यो मुद्दा ल्याउन अनावश्यक र अमर्यादित देखियो यसमा घोर आपत्ति छ ।’
राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद गणेश पराजुली विनियोजित बजेटबारेको छलफलमा भागलिन रोष्ट्रममा जाँदैगर्दा एमाले सांसदले चलिरहेको शैक्षिक मेला महानगरले रोकेको भन्दै आपत्ति जनाएपछि अन्य केही सांसदले समेत उनको ध्यानाकर्षण नियमसंगत नभएको भन्दै आपत्ति जनाएका हुन् ।
काठमाण्डौको भृकुटीमण्डपमा हिजो बिहीवारदेखि सुरु भएको शैक्षिक मेला काठमाण्डौ महानगरपालिकाले बन्द गराएको थियो ।
माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को नतिजा नआउँदै विद्यार्थी भर्नाका लागि तान्ने उद्देश्यले मेला आयोजना गरेको भन्दै महानगरले बन्द गराएको हो । माध्यमिक विद्यालय सङ्घ हिसानले आयोजना गरेको मेला बन्द गर्न महानगरको शिक्षा विभागका अधिकारीहरू नगर प्रहरीसहित भृकुटीमण्डपमा पुगेका थिए ।
परीक्षाको नतिजा नै प्रकाशित नभएको अवस्थामा मेलामार्फत विद्यार्थी र अभिभावकलाई झुक्याउने र लोभ्याउने काम भएपछि मेला बन्द गरेको महानगरले जनाएको छ । मेला असारको ३ गतेसम्म चल्ने तालिका थियो ।













