कार्कीलाई कार्कीकै प्रश्न : जिल्ला अदालतमा ८० प्रतिशत लिखित प्रतिस्पर्धाबाट न्यायाधीश नियुत्त गर्ने व्यवस्था उच्चमा पनि लागु गर्दा के हुन्छ ?
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर जारी छ ।
समितिमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको सुनुवाईमा पेस गरेको कार्ययोजनाका विषयमा भैरहेको प्रश्नोत्तरमा संसदीय सुनुवाई समितिका सदस्य तथा काँग्रेस नेता ज्ञानेन्द्र बहादूर कार्कीले उच्च अदालतमा हुने न्यायाधीश नियुक्तिको विषयमा अप्रिय टिकाटिप्पणी हुदै आएको भन्दै त्यसलाई न्यायपरिषद्को निर्देशिका बनाउँदा उक्त विषयमा छलपफल र ध्यानाकर्षण भयो कि भएन भनेर प्रश्न गरेका छन् ।
उनले भने,‘नेपालको संविधानको व्यवस्था अनुसार रिक्त रहेको जिल्ला न्यायाधीशहरुको नियुक्ति गर्दा ८० प्रतिशत लिखित प्रतिस्पर्धाबाट लिने गरिएको छ, हाल उच्च अदालतमा नियुक्त न्यायाधीशहरुको बारेमा धेरै प्रिय अप्रिय टिकाटिप्पणी हुने गरेका छन् । जिल्ला अदालतको जुन प्रणाली छ,त्यसलाई उच्चमा पनि लागु गर्दा के हुन्न सक्छ,तपार्इंको दृष्टिकोण के छ ?न्यायपरिषद्ले न्यायाधीश नियुक्ति सम्बन्धि निर्देशिका बनाउँदा यो विषयमा छलफल भयो कि भएन । यसलाई गम्भीरताको साथ लिईयो कि लिईएन?’
त्यस्तै उनले पाँच वर्ष भन्दा पूराना र समग्रमा फछ्यौट हुन बाँकी,चुनौतिको रुपमा रहेका २८ हजार ३०० थान मुद्दालाई फछ्यौट गर्ने योजना के छ ? भनेर समेत कार्कीसंग जिज्ञासा राखेका छन् ।
उनले भने, ‘पाँच वर्ष भन्दा पुराना र समग्रमा तपाईले नै २८ हजार ३०० थान मुद्दालाई फछ्यौट गर्नुपर्ने भन्नुभएको छ । हाम्रो न्याय प्रणालीको सबैभन्दा ठूलो चुनौति हो भन्ने मलाई लाग्छ, यो ब्याटलकलाई कसरी समाधान गरेर अगाडी जान सकिन्छ,यसका निमित्त तपाईंको सोच के छ ?’
सुनुवाई समितिका सदस्यहरुले प्रश्न सोध्ने क्रम सकिएपछि कार्कीले जवाफ दिनेछन् । संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायको जिम्मेवारीमा रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।














