युएसएआईडी कृषि उच्च शिक्षा कार्यक्रम चितवनमा सुरु
चितवन – युएसएआईडी एजेन्सी काउन्सेलर क्लिन्टन व्हाइटले आज ५० लाख अमेरिकी डलर (करिब ६५ करोड रुपैयाँ) सम्मको कोषसहितको “युएसएआईडी कृषि उच्च शिक्षा” क्रियाकलापको शुभारम्भ गरेका छन् । अनुसन्धान र शिक्षण विधिको सुदृढीकरण गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) को क्षमता अभिवृद्धि गर्ने र जनशक्तिका रूपमा तयार विद्यार्थीहरूको सङ्ख्या बढाउने उद्देश्यले सन् २०२२ को डिसेम्बरमा युएसएआईडीले यो पञ्चवर्षीय क्रियाकलाप अमेरिकास्थित टस्किगी विश्वविद्यालयलाई नेपाली साझेदार सत्गुरू इन्कर्पोरेटेडसँगको सहकार्यमा प्रदान गरेको हो ।
सन् २०१० मा स्थापना भएको र हाल एक हजार आठ सय भन्दा बढी विद्यार्थी रहेको एएफयु नेपालको अग्रणी कृषि विश्वविद्यालय हो भने कृषि र उच्च शिक्षामा लामो इतिहास भएको टस्किगी विश्वविद्यालयले विद्यार्थी विविधताको सम्पत्ति उपयोग गरी नवप्रवर्तनलाई उत्प्रेरित गर्दछ । यस नयाँ साझेदारीमार्फत आफनो शैक्षिक, अनुसन्धान र विस्तार क्षमतालाई सुदृढ गर्न र नेपालको कृषि रूपान्तरणमा महत्त्वपूर्ण शक्ति बन्नमा एएफयुका विद्यार्थीहरूको उद्यमशीलताको भावना विकास गर्न टस्किगी विश्वविद्यालयका अनुभवहरू प्रयोग गर्न एएफयु सक्षम हुनेछ ।
शुभारम्भ कार्यक्रममा बोल्दै एजेन्सी काउन्सेलर क्लिन्टन व्हाइटले भने, “कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगको हाम्रो संलग्नता थप सुदृढ गर्न यस नयाँ कृषि उच्च शिक्षा क्रियाकलापको सुरुवात गर्न पाउँदा युएसएआईडी उत्साहित छ । एउटा अमेरिकी उच्च शिक्षा संस्था र ऐतिहासिक रूपमा अश्वेत कलेज र विश्वविद्यालयका रूपमा रहेको टस्किगी विश्वविद्यालयसँगको यो साझेदारीले सबलता, अनुभव र विज्ञताको एक अद्वितीय सङ्ग्रह ल्याउनेछ । यस क्रियाकलापले कृषिमा उच्च शिक्षाको गुणस्तर सुधार गर्नेछ, बजार-निर्देशित पाठ्यक्रममार्फत विद्यार्थीहरूको रोजगारी-योग्यता अभिवृद्धि गर्नेछ र कृषि अनुसन्धान तथा विस्तारको सुदृढीकरणमा योगदान पुर्याउनेछ । साथै यसले नयाँ स्थानीय नेपाली संस्थाहरूसँगका हाम्रा साझेदारीहरूको विस्तार तथा विविधीकरण गर्न पनि सघाउ पुर्याउनेछ ।”
युएसएआईडी कृषि उच्च शिक्षा क्रियाकलाप नेपालमा खाद्य सुरक्षाको सुधार गर्न र आर्थिक विकास सुदृढ पार्न लक्षित अमेरिका र नेपालबिचको लामो साझेदारीका पछिल्ला उदाहरणहरूमध्ये एक हो ।
काउन्सेलर व्हाइट तिन-दिने भ्रमणमा नेपाल आउनुभएको हो जसमा वहाँले दशकौँ लामो हाम्रो मित्रतामा बढोत्तरी गर्दै नेपाल सरकार, नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी र व्यवसायहरूसँग भेटी अमेरिका र नेपालबिचको निरन्तर सहकार्य र साझेदारीबारे छलफल गर्नुहुनेछ ।














