संसद सत्ता पाउने नपाउने आवेगको केन्द्र नबनोस् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदलाई सत्ता प्राप्त गर्ने र गुमाउने आवेगको केन्द्र बनाउन नहुने बताएका छन् ।
शुक्रबार संसदमा उनले संसदलाई हल्का रुपमा प्रस्तृत गरिएको भन्दै सत्ता पाउने नपाउने आवेगको केन्द्र संसद बन्न नहुने बताए । उनले संसदमा बोलेका कुरा हटाउने कार्यसमेत बन्द हुनुपर्ने तर्क गरे ।
संसदमा छलफल हुने विषयबस्तु रेकर्डबाट हटाउने क्रम बन्द हुनुपर्ने भन्दै उनले केपी ओली सरकारको पालामा भएको पशुपतिको जलहरी प्रकरणबारे फेरी प्रश्न उठाए । ‘महालेखाको प्रतिवेदन ३१६ मा सुनको जलहरि निर्माण प्रकृयामा १०७ किलो सुन ९ सय २४ ग्राम सुन प्रयोग गर्ने उल्लेख गरिएको छ त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राम मात्र प्रयोग गरिएको र १० किलो ९ सय ७६ ग्राम सुन व्यपत्ता भएको भन्ने कुरा महालेखाको प्रतिवेदनमा उल्लेख छ ।’
उनले भने ‘त्यसको कुरा संसदमा बोल्दा रेकर्ड हटाईयो म त्यसको विरुद्धमा छु । यो कुरा बोल्दा ३ चोटी ४ चोटी संसदबाट डिलेट हुन्छ भने जनताको मनबाट डिलेट हुन सक्दैन् । यो विषय संसदमा छलफल हुनुपर्छ । ’