कर्णाली प्रदेश कांग्रेसमा विवाद

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागितालाई लिएर नेपाली कांग्रेसभित्र विवाद शुरु भएको छ ।
मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सुर्खेत–१ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट ‘क’बाट निर्वाचित बेदराज सिंह र दैलेख–१ ‘क’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
त्यो निर्णय एकलौटी गरिएको भन्दै केही सांसदहरूले असन्तुष्ट जनाएपछि कर्णालीमा मन्त्रीको लागि हानथाप शुरु भएको छ । जसका कारण कांग्रेसबाट सरकारमा सहभागी भएका तीन मन्त्रीको बुधबार हुने भनिएको शपथसमेत अन्तिममा आएर रोकिएको हाे । सिनियर नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र विवाद भएपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार रोकिएको हो ।
सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भन्दै कांग्रेसले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष तीन जनाको नाम सिफारिस गरिसकेको थियो । तर जाजरकोटबाट राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंहलगायतका नेताहरूले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएका हुन्
यता कांग्रेस सांसद जानकी सिंहले कांग्रेसभित्र विवादको प्रमुख कारण स्वयम् दलका नेता जीवनबहादुर शाही रहेको आराेप लगाइन् । उनले पार्टीको विधानअनुसार मन्त्रीमा नाम सिफारिस हुनुपर्ने तर त्यसो नभएकाले आफूलगायत कर्णालीका आम जनताहरू यो निर्णयमा असन्तुष्ट रहेको बताइन् । उनले सिनियर नेताहरूलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै सबै नेताहरूले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएको र यसको उजुरी केन्द्रमा गरिएको जानकारी दिइन् ।