गिरिजाले प्रचण्डलाई प्रजातन्त्र सिकाएको शेखर कोइरालाको दाबी
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रजातन्त्र के हो भनेर प्रचण्डलाई बुझाउने नै गिरिजाप्रसाद भएको दाबी गरेका छन् ।
काठमाडौँमा मंगलवार आयोजित गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीमा बोल्दै उनले आफ्नै उपस्थितिमा प्रचण्डलाई पूर्ण प्रजातन्त्र के हो भनेर सहमत गराएको बताए ।
‘गिरिजाप्रसाद कोइरालाले पूर्ण प्रजातन्त्र के हो भनेर प्रचण्डलाई सहमत गराउँदा म त्यहाँ उपस्थित थिए । सबैलाई एकै ठाउँमा उभ्याउने प्रयत्न गर्नुभयो । त्यो अत्यन्त सराहनीय छ ।’
शान्ति प्रक्रियालाई पूर्णता दिन पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै उनले यसको जिम्मेवारी सबै दलको हो भने ‘शान्ति प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन । सङ्क्रमणकालीन न्याय निरूपण बाँकी नै छ त्यो नभएसम्म शान्ति प्रक्रिया टुङ्गो लाग्दैन । तर त्यसलाई पूर्णता दिनको लागि पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा दुई मत छैन । ’
उनले सङ्क्रमणकालीन न्यायको लागि सर्वोच्चले गम्भीर तरिकाले निर्देशन दिएको बताएका छन् । यसलाई पूर्णता दिन सबैले विचार गर्नुपर्ने उनको भनाई छ ।














