५ उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सरकारमा सहभागी पार्टीहरूबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको संख्या २५ पुर्याउने गृहकार्य थालेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका सबै दलको चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन्।
मन्त्रालयको संख्या अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ छ । स्रोतकाअनुसार युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय टुक्य्राउने विषयमा छलफल भएको हो । यसअघि २०७४ को आम निर्वाचनपछि कार्यविभाजन नियमावली संशोधन गरेर मन्त्रालयको संख्या १८ मा सीमित गरिएकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको एक महिनामै मन्त्रालय २२ वटा पुर्याएका थिए ।
अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेपछि मन्त्रालय फुटाउने कसरत सुरु भएको हो । सरकारलाई समर्थन गरेका सबै दलले मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेकाले उनले मन्त्रालय विभाजन गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएको बुझिएको छ । संविधानअनुसार मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढी विस्तार गर्न मिल्दैन ।
तर उपप्रधानमन्त्रीको संख्याबारे भने संविधानमा केही उल्लेख छैन । त्यसैले उपप्रधानमन्त्रीको संख्या पनि पाँच पुर्याउन कसरत सुरु भएको हो । हाल सरकारमा तीन उपप्रधानमन्त्री छन् । राप्रपा र जनता समाजवादी पार्टी जसपाले कम्तीमा एउटा उपप्रधानमन्त्री चाहिने सर्त राखेका छन् । ती दललाई उपप्रधानमन्त्री दिँदा उपप्रधानमन्त्रीको संख्या पाँचवटा पुर्याउनुपर्ने बाध्यता प्रचण्ण्डलाई छ ।
पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र दुई दललाई प्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउने उनको तयारी छ । ०७४ को चुनावअघि संघमा मन्त्रालयको संख्या ३१ वटा थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भागबन्डा मिलाउन पटक–पटक विस्तार गर्दै मन्त्रिपरिषद्लाई ६४ सदस्यीय बनाएका थिए, जुन अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद् हो ।








