शालिनदीमा माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको शङ्खरापुर नगरपालिकास्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी भइरहेको छ ।
मेलाको ३५ लाखसम्म आन्तरिक एवम् बाह्य पर्यटकले दर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । शालिनदी मेला यो वर्ष पुस २२ देखि माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।
पौराणिक मान्यतामा आधारित यो व्रत एवम् मेला राष्ट्रिय महत्त्व र गौरवको विषय बनेको छ । यो मेलामा आउने भक्तजनका लागि सहज रुपमा सार्वजनिक यातायातको व्यवस्था गरिने भएको छ ।
यसका लागि शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर यातायात प्रालिबाट सबै बस सञ्चालन गरी अपुग भएमा अन्य यातायातका साधन पनि सञ्चालनमा ल्याइने भएको छ ।
मेलामा शान्तिसुरक्षा, स्वास्थ्य सेवा, निःशुल्क खानेपानी सेवा, कोरोनाको नयाँ भेरियन्ट बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चेतनामूलक अभियान सञ्चालन गरिनाका साथै स्यानिटाइजर मास्क निःशुल्क वितरण गरिने समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
मेला सञ्चालनका लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र पौराणिक महत्वको सहर साँखुका आठवटै टोलबाट पालैपालो अध्यक्ष छान्ने व्यवस्था गरिएको छ । यस पटकदेखि दुई वर्षका लागि साल्खा टोलका बालकृष्ण अध्यक्ष बन्नुभएको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद श्रेष्ठले जानकारी दिए ।
साँखुलाई तीन हजार तीन सय वर्ष पुरानो सहरका रुपमा मानिँदै आएको छ । त्यसैबेलादेखि माधवनारायण स्वस्थानी व्रत नियमित रुपमा सञ्चालन हुँदै आएको जनाइएको छ । मेला क्षेत्रमा प्लाष्टिक निषेधित गरिएको छ ।
मेलाको एक हप्तादेखि नै वर्तालुले पूजापाठ सुरु गर्छन् । यो व्रतलाई कठिन व्रत मानिन्छ । वर्तालुले एक छाकमात्र नुन खान्छन् । जुत्ता चप्पल नलगाई पैदल हिँड्नुपर्ने व्रतविधि छ । वर्तालुले सात्विक भोजन गर्छन् ।
व्रतको बीचमा गर्नुपर्ने परदेश यात्रामा पनि जुत्ता चप्पल नलगाई खाली गोडा पैदल यात्रा गर्नुपर्छ । यो यात्रा साँखु शालिनदी क्षेत्रबाट बज्रयोगिनी, पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा गरिन्छ । मेलाका लागि नगरपालिकाले बजार अनुगमनको जिम्मेवारी लिएको समितिका पूर्वअध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।
मेला सञ्चालनमा आउने पसलमा समितिले तोकेको मूल्यसूची राखिने जानकारी पनि दिइएको छ । मेलाका बेला बढी भाडा लिने सार्वजनिक यातायात र तोकिएभन्दा बढी मूल्यसूची लिने पसललाई इलाका प्रशासन कार्यालय, नगरपालिका, समितिलगायतको समन्वयमा बन्ने संयन्त्रले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।
मेलामा कोरोनाअघि २० लाख आन्तरिक एवम् बाह्य भक्तजन आएका थिए । शालिनदी मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारत एवम् दक्षिण एसियाका अन्य मुलुकबाट पनि पर्यटक आउने गरेका छन् । कोरोनाकालमा भने १५ लाख आन्तरिक एवं बाह्य पर्यटक आएको जनाइएको छ ।












