जे नहुनुपर्ने थियो त्यो भयो, जे भएको छ, ठिक भयो : कांग्रेस महामन्त्रीद्वय
कास्की । नेपाल लिटरेचर फेस्टिभलको मंगलबार अन्तिम दिन । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पोखरामा जारी महोत्सवमा ‘राजनीतिमा समाजको ऐना’ विषयक बहसमा सहभागी भए । यति नै बेला सत्ताको नेतृत्व गरेको कांग्रेस प्रतिपक्षमा पुगिसकेको थियो ।
सत्ताबाट एकैचोटी प्रतिपक्षमा पुग्दा महामन्त्रीद्वय भने पोखरा नेपाल लिटरेचर फेस्टिभलमा सहभागी भएर ‘राजनीतिमा समाजको ऐना’ विषयमाथि बहसमा आफ्ना धारणा राख्दै थिए । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि पोखे ।
यद्यपि महामन्त्रीद्वयले कांग्रेस प्रतिपक्षमा पुगेकोमा ठिक भएको बताए । ‘हिजोको राजनीतिक घटना जे नहुनुपर्ने थियो, त्यो भयो, जे भएको छ, ठिक भयो,’ महामन्त्री शर्माले भने । अर्का महामन्त्री थापाले पनि कांग्रेसलाई पार्टीगत र रणनीतिक हिसाबले हेर्दा हित भएको बताए ।
‘हाम्रो मतदाताको जस्तो विशिष्ट व्यवहार छ । त्यो व्यवहारमा यसले एउटा राजनीतिक दलले अर्को दललाई भोट हाल्ने कुरा दीर्घकालमा हित गर्दै गर्दैन । यसकारणले निर्वाचन अगाडिदेखि नै छुट्टाछुट्टै चुनावमा जानुपर्छ भन्ने लागेको थियो,’ महामन्त्री थापाले भने ।
सोमबार महामन्त्री थापालाई फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा मोडरेटर बसन्त बस्नेतले ‘पोखरा हारेर आउनुभएको कि जितेर ?’ भन्ने प्रश्न गरेका थिए ।
थापाले मुस्कुराउँदै आफू पोखरामा पार्टी सभापतिको कार्यशैलीप्रति हारेर आएको बताए । थापाले भने, ‘यो भन्दा पछिल्लो सेसन केही जितेजस्तो, केही हारेजस्तो भन्ने छ । त्यो ठ्याक्कै मलाई फिट हुने जस्तो छ । मलाई फिट हुने चाहिँ त्यो सेसन हो । मेरो आफ्नो व्यक्तिगत कुरा चाहिँ लुडोको नाग पासमा भर्याङ चढेर अतिकति माथि पुगेको । अनि विश्व दाइ र प्रदीपले समर्थन गरेपछि थप भर्याङ चढौंला भनेर सोचेको, नागबाट एकैचोटी झरेर तल आएको जस्तो भएको छ ।’
अर्का महामन्त्री शर्मालाई मोडरेटर बस्नेतले प्रश्न गरे— तपाईंको ऐनामा अहिलेको परिस्थिति कस्तो देखिन्छ ? तपाईं पनि जितेर आउनुभयो कि हारेर ?
मुस्कुराउँदै शर्माले विश्वकप फुटबलसँग जोडेर जवाफ दिए । उनले भने, ‘गत हप्ता भएको विश्वकपमा सबैभन्दा बढी गोल एम्बापेले गरे । गोल्डेन बुट पनि जिते तर, कप चाहिँ अर्जेन्टिनाले लग्यो । यसकारण अहिले कांग्रेस एम्बाप्पे बनेको छ ।’
उनले कांग्रेस निर्वाचनमा पहिलो पार्टी भए पनि अब प्रतिपक्षको भूमिकामा पुगेको बताए । उनले कांग्रेस भत्किसकेको र अब निर्माण हुने क्रममा रहेको बताए । ‘जब केही भत्किन्छ । तब निर्माणको काम पनि सुरु हुन्छ । यो चाहिँ नेपाली कांग्रेसका लागि टर्निङ पोइन्छ हो । जे नहुनुपर्ने थियो, त्यो भयो, जे भएको छ । ठिकै भएको छ । अहिले भएको कुरालाई अहिले नै बुझिँदैन । अलि पछि बुझिन्छ,’ उनले भने ।
महामन्त्री थापाले भने नेपाली कांग्रेस राजनीतिको शिखरमा पुगेर एकैचोटी तल पुगेको टिप्पणी गरे । ‘नेपाली कांग्रेसको कार्यकर्ताको हिसाबले हिजोका घटनाचाहिँ लुडोमा ९९ तिर पुगेपछि एउटा नाग हुन्छ नि, पुग्नेपुग्ने बेलामा । त्यहाँ पुग्ने बेलामा एकै चोटी तल झरेको जस्तो भएको छ । व्यक्तिगत रुपमा म नढाँटी भन्छु । बिहानदेखि मैले सभापतिको फोन कुरिरहेको थिएँ । उहाँले कल गर्नुभएन,’ थापाले भने, ‘उहाँले गठबन्धनको बैठकमा पार्टीमा कुरा गर्छु भन्नुभएको रहेछ । तर, हामीसँगै कुरा गर्नुभएन ।
थापाले पनि अहिलेको राजनीतिलाई विश्वकप फुटबलसँग जोड्दै आगामी पाँच वर्षमा मेसी नहुने विश्वकप एम्बापेले जित्ने बताए । थापाले आफू गठबन्धनको सुरुवातदेखि नै विरोधी भएको तर बाध्य भएर पार्टीले गरेको निर्णय मानेको बताए । उनले भने, ‘०७४मा जे परिणाम देखिँदै थियो । कांग्रेस ठुलो पार्टी बन्यो । हिजो पनि ठुलो पार्टी सरकार बाहिर बस्यो । जुन ठुलो पार्टी बन्छ, त्यो दण्डित हुन्छ । यसकारण हामी छोडेर, भागेर हुँदैन । निर्वाचन अगाडि गठबन्धन नगरौं भन्ने थियो ।’
निर्वाचन अगाडिको तालमेल वा गठबन्धनका लागि एउटा उन्नत जातको संस्कृति नेपालमा नभएको थापाको भनाइ थियो । उनले भने, ‘निर्वाचन अगाडिबाटै गठबन्धन गर्ने संस्कार हाम्रो नेपालमा छैन । ठुलो दल भए पनि सरकारमा जाने सुनिश्चितता हुँदैन । यसैले निर्वाचन अगाडि गठबन्धन गर्नुहुँदैन ।’
थापाले कांग्रेस र माओवादीले दुवैले गठबन्धनबाट चुनाव जितेपछि बार्गेनिङ छाडेर इमानदार नहुँदा यस्तो अवस्था आएको प्रतिक्रिया दिए । उनले भने, ‘निर्वाचन अघि पाँच वर्षसम्म भनेर घोषणा गरेपछि यसको धर्म निर्वाह गर्नुपर्छ । हिजो जे भयो । आज त्यो टिप्पणी गर्न चाहन्न । नेपाली कांग्रेसले पनि यो चुनावपछि अरू दलसँगै संवाद नै गर्नु हुँदैनथ्यो । माओवादीले पनि गर्न मिल्दैनथ्यो । किनकि हामीले यो निर्वाचनमा एक अर्कोका मतदाताको भोट नै एक अर्कोलाई ट्रान्सफर गरेका थियौं । समग्रमा हाम्रो निर्वाचन प्रणालीप्रति समीक्षा गर्नुपर्ने बेला आयो ।’















