देउवा समूह छोडेर प्रदीप पौडेल बने गगनको समर्थक
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित सांसद प्रदीप पौडेल महामन्त्री गगन थापाको पक्षमा खुलेका छन् ।
पौडेल यसअघि पार्टीको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार थिए । दलको नेताको निर्वाचनमा भने उनी महामन्त्री थापाको समर्थक बसेका छन् । १३ औँ महाधिवेशनमा भने पौडेल र थापा दुवै जना नेता कृष्णप्रसाद सिटौलासँग उभिएका थिए ।
कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ । पाँचौ पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनाव लड्दैछन् । महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दैछन् । ४६ वर्षे थापा देउवाभन्दा ३० वर्ष कान्छा छन् ।
महाधिवेशनमा पुस्तान्तरण र रुपान्तरणको पक्षमा जनमत लिएर लोकप्रिय मतसहित महामन्त्री बनेका थापाले ६ महिनाअघि देखि नै मुलुकको कार्यकारी प्रधानमन्त्री भएर गर्नुपर्ने कामबारे छलफल, परामर्श र पूर्वतयारी गरेका छन् । देउवा र थापाबीचको प्रतिस्पर्धाले पार्टी र राष्ट्रिय राजनीतिमा परिवर्तन चाहने र परिवर्तन नचाहनेहरूको ध्रुवीकरण हुने देखिएको छ ।
संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।
















