ओली : अदालती ‘कु’ बाट हामीलाई सरकारबाट हटाइयो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालती ‘कु’बाट आफूलाई सरकारबाट हटाइएको बताएका छन् । राजधानीमा प्रतिनिधिसभा तथा प्रदेशसभाका संसदहरुलाई शुभकामना तथा बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफूलाई सरकारबाट हटाउन कार्य अदालती कु जस्तो भएको बताए ।
‘हिजैदेखि हाम्रोविरुद्ध कहिले मुद्दा लगाउने, कहिले अभियोग हाल्ने, हामीले जुन जनादेश प्राप्त गरेका थियौं त्यसलाई अस्वीकार गर्ने, त्यसलाई कुच्चिने, अर्को दिशा अस्थिरतातर्फ देशलाई धकेल्ने त्यस्ता प्रयासहरु भए,’ ओलीले भने, ‘हामीलाई कमजोर बनाउनका लागि ज–जसको जे–जे अधिकार क्षेत्र हो, संवैधानिक अंगका राज्यका अंगमा पनि अतिक्रमण गरियो, परमादेशबाट हामीलाई हटाउने काम मात्रै भएन, संसदको अधिकार क्षेत्रमा अतिक्रमण पनि भयो, लोकतान्त्रिक मूल्य र मान्यताहरु कुच्चिए, संवैधानिक व्यवस्थाको पालना भएन, संविधानमा नभएको कुराहरुको व्याख्या गरियो, एक ढंगले भन्ने हो भने अदालती कु जस्तोबाट हामीलाई सरकारबाट हटाइयो ।’ कार्यक्रममा उनले दुई वर्षअघि गरेको संसद् विघटनको बचाउ गरेका थिए ।












