यौन दुर्व्यवहारको आरोप लागेका माओवादी केन्द्रीय सदस्य निलम्बित
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।
उनले माओवादी केन्द्रकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लील म्यासेज पठाएको खुलेको छ ।
अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुर्व्यवहार भएकोबारे सुरुमा संगठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् ।
ती किशोरीको निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईंलाई केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरिएको छ ।
माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।
‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा कार्यरत एकजना महिला कमरेडको निवेदन र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएका अश्लील म्यासेजहरुको प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्रीप्रसाद बजगाइँलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ’ माओवादीको आन्तरिक सर्कुलरमा भनिएको छ, ‘तत् सम्बन्धमा सत्यतथ्य बुझी आवश्यक छानबिन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको छ ।’
बजगाईंलाई सम्पर्क गर्ने अनलाइनखबरको प्रयास भने सफल हुन सकेन । माओवादी केन्द्रीय कार्यालयले समेत आफूहरुले सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा नआएको बतायो ।
यसैबीच बजगाईंमाथि छानबिनको जिम्मेवारी पाएको केन्द्रीय अनुशासन आयोगले काम थालेको छ । आयोगका अध्यक्ष टंक राईले आफूले पीडित किशोरीसँग प्रारम्भिक बयान लिएको बताए ।
‘पीडितलाई भेटेर प्रारम्भिक कुराकानी गरेका छौं’ राईंले भने, ‘१० दिनभित्र प्रतिवेदन बुझाउने गरी काममा लागेका छौं । तलसम्म गएर छानबिन गर्छौं ।’
बजगाइँ सम्पर्कमा नआए आफूहरुले पत्र काटेर बयानका लागि बोलाउने राई बताउँछन् । सफाइका लागि समय दिंदा पनि नआए बजगाईं दोषी भएको ठहर हुने उनको भनाइ छ ।
अनुशासन समितिले प्रतिवेदन बुझाएपछि उनीमाथि गरिने थप कारबाही तय हुने माओवादी केन्द्रले बताएको छ ।
हेर्नुहोस् पत्र


















