२ सय वर्ष पुरानो ग्यालरी बैठक पुनर्निर्माण गरिने
काठमाडौँ । राणाकालीन समयमा बनेको झन्डै दुई सय वर्ष पुरानो सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) पुनर्निर्माण गरिने भएको छ । संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेले पुनर्निर्माणको जानकारी सहरी विकास मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए ।
मन्त्रालयको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले सचिवालयलाई पत्राचार गरेर यसभित्र रहेका सामाग्री निकाल्न आग्रह गरेको छ । पाण्डेले अब भवनभित्र रहेको सामान व्यवस्थापन गरिने बताए । २०७२ को भूकम्पले क्षति पुर्याएपछि उक्त पुरात्वात्तिकक भवन प्रयोगविहीन थियो । भवनको पुनर्निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारी गर्न सचिवालयलाई अनुरोध गरेको विशेष भवन कार्यालयले जनाएको छ ।
भवनलाई वर्षाबाट जोगाउन प्लास्टिकले छोपेर राखिएको भने लामो समयदेखि प्रयोगमा नआएपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले २०७६ पुसमा भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको थियो । विशेष भवन कार्यालय प्रमुख मचाकाजी महर्जनका अनुसार भवन पुरै भत्काउने वा रेट्रोफिट (प्रबलीकरण) गर्ने यकिन नभएको बताए । ‘सुरुमा हामी ग्यालरी बैठक भवन निरीक्षण गरेर प्राविधिक अध्ययन गछौं । त्यसपछि पूरै भत्काउने कि त्यसैलाई मर्मत गर्ने निर्णय हुन्छ,’ मचाकाजीले भने । मन्त्रालयले भने ग्यालरी बैठक भवन निर्माणका लागि नियमित बजेट विनियोजन गरेको छ । ग्यालरी बैठक भवन क्षति भएको ८ वर्षपछि पुनर्निर्माणको तयारी गरेको हो ।
भवनको संरक्षण र उपयोग गर्ने विषयमा यकिन निर्णय गर्न नसकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरानै प्रकृतिको कलात्मक देखिने गरी सरकारी संरचना बनाउने तयारी गरेका बेला विकास समितिले त्यतिबेला यस्तो निर्देशन आएको हो । संसद् सचवालयले भने सरकारले यसको उपयोगका लागि ‘स्टेट गेस्ट हाउस’, ब्यांक्वेट वा सेमिनार हल बनाउने विषयमा छलफल भइरहेको छ ।
समितिको मंगलबारको बैठकमा सांसदहरूले सहरी विकास मन्त्रालय र पुनर्निर्माण प्राधिकरणका अधिकारीसँग भवनको उपयोगको विषयमा छलफल गरेका थिए । समितिले अहिलेकै जस्तो देखिनेगरी कलात्मक र वास्तुकलाहरूको आकृति देखिने गरी नयाँ भवन बनाउन निर्देशन दिएको हो । अहिलेसम्म प्राप्त प्रमाणका आधारमा उक्त भवन राणाहरूले सुरुमा मनोरञ्जनका लागि नाच्ने, गाउने र भोजभतेर गर्नका लागि बनाएका थिए । संसद् सचिवालयले गरेको अध्ययनअनुसार विस्तारै राणा प्रधानमन्त्रीहरूले उक्त भवनलाई विदेशी पाहुना भेट्ने थलो बनाएका थिए ।
अहिलेसम्म प्राप्त प्रमाणका आधारमा आफ्नै निवासमा भेट्दा पारिवारिक र आन्तरिक सुरक्षाका कतिपय विषय विदेशीलाई जानकारी हुने भन्दै राणाहरूले नाचगान भवनलाई अन्यत्र सारेर पाहुना भेटभाटको थलो बनाएको देखिन्छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले सन्धि सम्झौता र राजदूत भेटघाट सोही हलमा गरेको जानकारहरूलाई उद्धृत गर्दै संसद् सचिवालयले जानकारी दिएको छ ।
राणा प्रधानमन्त्री पद्मशमशेरले मुलुककै पहिलो संविधान मानिएको ‘नेपाल सरकार : वैधानिक कानुन’ २००४ मा सोही हलमा घोषणा गरेका थिए । २००८ सालको भारदारी सभा पनि सोही हलमा सञ्चालन भएको थियो ।
२०१५ सालपछि संसद् र पञ्चायतकालमा राष्ट्रिय पञ्चायतको बैठक पनि त्यहीँ बस्ने गरेको थियो । २०४८ सालदेखि २०६४ को संविधानसभाको पहिलो निर्वाचनसम्म उक्त भवनमा संसद्को बैठक बस्दै आएको थियो ।















