नेकपा एसको घोषणापत्र : स्वास्थ, पानि र विद्युत निशुल्क देखि घरेलु मदिरा ब्रान्डिङ सम्म

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा समाजवादीले २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई समावेस गरेको छ । घोषणापत्र अनुसार प्रत्येक घर परिवारलाई मासिक दुई सय युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्नेसम्मका कार्यक्रम छन् ।
नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको समाजवादी पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको छ । यसअघि एमालेबाटै निर्वाचन लडेको समाजवादी यस पटक भने सत्तारूढ पाँच दलीय गठबन्धनबाट अघि बढिरहेको छ ।
मासिक पाँच हजार लिटर पानी र वार्षिक २०० युनिट विद्युत निशुल्क
नेकपा एसले मतदालताई निशुल्क खानेपानी र दुई सय युनिट विद्युत निुशल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
‘हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खाने पानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने छ,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ, ‘खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा अनिवार्य रूपमा पुर्याइने छ ।’ घोषणा पत्रमा भनिएको छ।
घोपाणापत्रमा हरेक घरपरिवारमा स्वच्छ खानेपानी पुर्याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने जनाइएको छ । सोहीअनुसार बजेटको प्राथमिकता निर्धारण गरिने समेत घोषणापत्रमा उल्लेख छ ।
‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता नेकपा एसले गरेको छ ।
‘स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइने छ । यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।
पालिकामा युवा विभाग, हरेक वार्डमा खेल मैदानः नेकपा एस
नेकपा एसले हरेक पालिकामा युवा विभाग र हरेक वार्डमा खेल मैदान निर्माण गर्ने जनाएको छ ।
‘युवाहरू नै वास्तविक श्रमशक्तिका स्रोत हुन् । यस तथ्यलाई बुझेर हाम्रो नेतृत्व रहेका पालिकाहरूले युवा विभाग गठन गर्ने छन् । पालिकास्तरमा रहेको युवा विभागले आफ्नो भूगोलभित्र रहेका १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको तथ्याङ्क लिने, ती युवाहरूमध्ये बेरोजगारहरूलाई रोजगारी उपलब्ध गराउनका लागि स्वरोजगारका विविध योजना बनाई लागु गर्ने छन्,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।
युवा जनशक्तिलाई देशभित्रै टिकाउन र उत्पादन बृद्धिमा जोड्न तथा उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि विभिन्न योजना पनि घोषणापत्रमा समेटिएको छ ।
‘हाम्रा युवा हामीसँगै’ भन्ने आव्हानका साथ ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने र आफ्नै गाउँ सहरमा रोजगारीका अवसरहरू सृजना गर्ने कुरालाई उच्च प्राथमिकतामा राखिने घोषणापत्रमा उल्लेख छ । युवा जनशक्तिलाई उत्साहकासाथ देशविकासमा लगाइने नेकपा एसले जनाएको छ ।
घोषणापत्रमा प्रत्येक पालिकामा सिपमूलक तालिम केन्द्र स्थापना गरिने प्रतिवद्धता समेत गरिएको छ ।
हरेक वार्डमा सबै आयुवर्गका मानिसलाई खेलकुद र व्यायामतर्फ आकर्षित गर्नका लागि आवश्यक भौतिक संरचना निर्माण गरिने पनि घोषणापत्रमा समेटिएको छ ।
‘बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गरिने छ । हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र र हरेक पालिकामा फुटबल, क्रिकेट लगायतका खेल खेल्न सकिने ठुला खेल मैदान निर्माण गरी बालबालिका तथा युवाहरूको स्वास्थ्य सुगठनमा विशेष ध्यान दिइने छ,’ घोषणापत्रमा उल्लेख छ ।
हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गर्ने
नेकपा एसले बालबालिकाका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ ।
‘हरेक टोलमा बालउद्यान निर्माण गरिने छ । यस्ता उद्यानमा बालबालिका खेल्ने, रमाउने साधनहरूको व्यवस्था गरिने छ,’ घोषणापत्रमा नेकपा एसले भनेको छ, ‘बालबालिका समाजको उत्तरदायित्व भन्ने मर्मलाई हृदयंगम गर्दै हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गरिनेछ ।’
काममा जाने श्रमजीवि अभिभावकलाई बालबालिका रेखदेख गर्ने सामाजिक केन्द्रका रुपमा स्थानीय सरकारले बाल स्याहार केन्द्र संचालन गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।
बालबालिकाहरूलाई सानै उमेरदेखि साहित्य र कलाप्रति आकर्षित गर्नका लागि हरेक वार्डस्तरमा स्थानीय विद्यालयहरूलाई अग्रसर गराई वार्षिकरूपमा बालसाहित्य तथा कला मेलाको आयोजना गर्ने प्रतिवद्धता पनि नेकपा एसले गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको हकहितका सम्बन्धमा प्रतिवद्धता
नेपका एसले मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिहरुको हकहितलाई प्राथमिकता दिएको छ ।
‘शारीरिक अपाङ्गता भएका मानिसलाई उहाँहरूको क्षमताबमोजिम तालिम र सो पश्चात रोजगारी उपलब्ध गराउने कार्यक्रम स्थानीय सरकारको तहबाट सञ्चालन गर्नुपर्दछ भन्ने बारेमा हाम्रो पूर्ण प्रतिवद्धता छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।
हरेक पालिकाहरूले आफ्नो भूगोलभित्र रहेका शारीरिक रूपमा अपाङ्गता भएका मानिसहरूलाई रोजगार बनाउनका लागि आवश्यक तालिम उपलब्ध गराउनुका साथै व्यवसाय गर्नका लागि निव्र्याजी ऋण प्रदान गरिने पनि घोषणापत्रमा उल्लेख छ ।
‘बौद्धिक अपाङ्गता भएका मानिस र बालबालिकाको स्याहार– सुसार र संरक्षणका लागि सम्बन्धित परिवारलाई मासिक रूपमा भत्ता दिने व्यवस्था गरिने छ,’ नेकपा एसको घोषणापत्रमा लेखिएको छ ।
‘अपाङ्ग मैत्री गाउँ–सहर’ भन्ने नाराका साथ अपाङ्ग मैत्री संरचना, खासगरी अपाङ्ग मैत्री विद्यालय, कार्यालय एवं सामुदायिक भवन तथा अपाङ्ग मैत्री शौचालय निर्माण गरिने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको छ ।
उम्मेदवारी दर्ता गरेकै दिन नेकपा एसका उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने
नेकपा एस पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेले सोही दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन् ।
‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन हाम्रा उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन्,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ ।
भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनिसकेको जनाउँदै घोषणापत्रमा नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्न अभियान सञ्चालन गरिने जनाइएको छ ।
‘स्थानीय सरकारको प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षमा निर्वाचित हाम्रा जनप्रतिनिधिहरूले निर्वाचित हुनुअघि कुनै कारोवार वा व्यवसाय गरेका रहेछन् र सो व्यवसायको कार्यकारी जिम्मा लिएका रहेछन् भने आफ्नो कार्यकालभरि आफूलाई सो व्यवसायको कार्यकारी जिम्माबाट अलग भएको घोषणा गर्ने छन्,’ घोषणापत्रमा लेखिएको छ ।
नेकपा एसका जनप्रतिनिधिले आफ्नो कुनै पनि रूपको सम्पत्ति सम्बन्धित स्थानीय सरकारबाट भाडामा लिने गरी परिचालित नगर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । आफ्नो पालिकाका विकास निर्माणमा ठेक्का लिने वा सामान आपूर्ति गर्ने खालका आर्थिक स्वार्थका काममा समेत जनप्रतिनिधिलाई सामेल नगराउने प्रतिवद्धता नेकपा एसले गरेको छ ।
‘भड्किलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिने छन्,’ नेकपा एसले भनेको छ ।
घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने
नेकपा एसले घरेलु मदिराको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने प्रतिबद्धता जनाएको छ ।
‘आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयोग हुने विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक छ,’ घोषणापत्रमा भनिएको छ, ‘यसैले सङ्घ र प्रदेश सरकारहरूसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनानबद्ध ढङ्गले अगाडि बढाउने छन् ।’
नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचीपूर्वक सेवन गरेकोले यस्ता माल–वस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउनु आवश्यक रहेको घोषणापत्रमा औंल्याइएको छ ।
‘यस कामबाट आयात प्रतिस्थापन हुनुका साथै रोजगारीको विकास हुने र नेपाली माल राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने छ,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ ।
आफूले जितेका स्थानीय तहमा निःशुल्क स्वास्थ्योपचार उपलब्ध गारउने
नेकपा एसले आगामी स्थानीय तह निर्वाचनमा आफूले जितेका स्थानमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्ने जनाएको छ ।
‘स्थानीय सरकारका कामहरूमध्ये निःशुल्क रूपमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने छ,’ घोषणापत्रमा उल्लेख छ ।
स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने नेकपा एसले जनाएको छ ।
‘जटिल खालका शल्यक्रियाहरू (जस्तै– मुटु , मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्करूपमा उपलब्ध गराइने छ,’ घोपाणापत्रमा लेखिएको छ ।
स्वास्थ्योपचारसम्बन्धी स्थानीय ज्ञान र सिपको संरक्षण गर्नुका साथै स्थानीय स्तरमा आधुनिक स्वास्थ्य सेवा पु¥याउनु स्थानीय सरकारको प्रमुख कर्तव्य हुने पनि नेकपा एसले जनाएको छ ।
‘पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्नका लागि स्थानीय सरकारले आकर्षक प्याकेजको व्यवस्था गर्नेछन् । यसबाट एकातिर दूर–दराजका जनताले पनि घरआगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने छन् भने अर्कोतिर स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ,’ घोषणापत्रमा भनिएको छ ।
जनताको सहज स्वास्थ्य उपचारका लागि घुम्ती स्वास्थ्य शिविर, मोबाइल नर्सिङ, टेली मेडिसिनका साथै टोल टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी औषधि र जनशक्तिको उचित व्यवस्था गरिने प्रतिवद्धता घोषणापत्रमा गरिएको छ ।
सबै पालिकामा अनिवार्य रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने नेकपा एसले जनाएको छ ।