कैलालीमा पनि तीव्र रूपमा बढ्दै छ कोरोना
धनगढी / पछिल्लो केही दिन यता कैलालीमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक गतिमा बढिरहेको छ । शुक्रवार सेती प्रादेशिक अस्पतालमा गरिएका परीक्षणमा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।१२१ जनामा परिएको परीक्षणमा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना सङ्क्रमण हुँदा ५५ जनामा नभएको पुष्टि भएको हो ।
उनले पछिल्लो केही दिन यता सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको बताए ।पछिल्लो चार महिनामा सबै भन्दा धेरै सङ्क्रमित शुक्रवार फेला परेका हुन् । कैलालीमा बुधवारबाट कोरोना सङ्क्रमितहरूको सङ्ख्या एक्कासि बढेको हो । पुसको २० गते गरिएको ३५ जनाको परीक्षणमा २ जना, २१ गते ४४ जनामा २ जना, २२ गते २४ जनामा २ जना, २३ गते ५६ जनाको परीक्षणमा ६ जना, २४ गते ३६ जनाको परीक्षणमा ८ जना, २६ गते ८७ जनाको परीक्षणमा १२ जना, २७ गते ७६ जनाको परीक्षण गरिएकोमा २१ जनामा कोरोना पुस्टी भएको छ ।
यस्तै २८ गते १०५ जनाको परीक्षणमा ४५ जना, २९ गते १६१ जनाको परीक्षणमा ४ जना र शुक्रवार १२१ जनाको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।पछिल्लो केही दिन यता समुदायमा पनि कोरोना सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार ट्राभल हिस्ट्री समेत नभएकाहरू सङ्क्रमित हुन थालेपछि समुदायमा सङ्क्रमण फैलिन थालेको आशङ्का गरिएको छ ।भारतबाट आएका सङ्क्रमितहरू सोझै घर जाने गरेकाले पनि समुदायमा सङ्क्रमण फैलन थालेको बताइएको छ ।
भारतको नयाँ दिल्ली, पुना, बैंगलोर लगायतका ठाउँबाट आएका सयौँमा प्रत्येक दिन कोरोना पुष्टि भइरहेको छ । तर, उनीहरू सार्वजनिक सवारी मार्फत नै घर सम्म गइरहेका छन् ।कोरोना सङ्क्रमित भएकाहरूलाई आइसोलेसनमा राख्नु पर्ने भए पनि वडाध्यक्षकै दबाबमा उनीहरूलाई झिकाइने गरेको गुनासो बढिरहेको छ । शुक्रवार मात्रै ७५० परीक्षण गर्दा १५० जनामा सङ्क्रमित फेला परेका छन् । भारतबाट आउनेहरू मध्ये बढी भन्दा बढीमा कोरोना सङ्क्रमित देखिने गरेको छ ।पछिल्लो १० दिनमा सुदूरपश्चिम भरी १४ सय ९३ कोरोना सङ्क्रमित थपिएका छन् ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार दैनिक जसो सङ्क्रमितहरू थपिन थालेका हुन् । १० दिनको तथ्याङ्क हेर्ने हो भने २० गते ४० जना सङ्क्रमित भएको प्रदेशमा २९ गते त्यसको झन्डै ९ सय प्रतिशत अथवा ३१८ जनामा कोरोना देखिएको छ । सीमा क्षेत्रबाट होल्डिङ सेन्टर सम्म पुराइएकाहरू सबै त्यहाँ नबस्दा समस्या विकराल बन्ने आशङ्का गरिएको छ ।














