‘देउवा सरकारको ६ महिना उपलब्धिमूलक छ,’ रामहरि खतिवडा
काठमाडौँ/ प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसका केन्द्रीय रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरे ।देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले सरकारले संविधानलाई सही ट्र्याकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको दाबी गरे ।
उनले भने,‘यसअघि नेकपालाई पाँच वर्षको लागि सरकारको नेतृत्व गर्ने अवसर थियो, तर उहाँहरू आँपैबिच मारामार, कुटाकुट र हानाहान गर्ने अवस्था भयो, दुई तिहाइको मतलाई अपमान गर्नुभयो, उहाँहरूकै कारण अहिले काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो ।
काँग्रेस सरकारमा आउनु पूर्व संवैधानिक निकाय र संसदीय पद्धति ध्वस्त थियो । तत्कालीन प्रधानमन्त्री ओलीले ६ महिनाको अवधिमा दुई दुई पटक संसद् विघटन गर्नुभयो, राष्ट्रपतिलाई दुरुपयोग गरिएको थियो । तर, अदालतले परमादेश दिएर अहिले नयाँ सरकार बनेको छ। यसले अहिले मुलुकलाई संवैधानिक ट्र्याकमा ल्याएको छ ।’
उनले देउवा सरकारले यसअघि ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन थालेको पनि दाबी गरे ।










