पूर्व राजाको सन्देश,‘प्रजाको हित नभए जुनसुकै तन्त्र आए पनि काम छैन ’
काठमाडौँ/ पूर्व राजा ज्ञानेन्द्र शाहले जनताको सास्ती नहटेसम्म जुनसुकै ’तन्त्र’ आए पनि अर्थ नहुने बताएका छन् । ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने उल्लेख गरेका छन् ।
‘जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसुकै चयन गरियून, यसले राष्ट्र हित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ,’ उनले लेखेका छन्, ‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्छ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु हुँदैन ।’
प्रणाली केवल साधन हुने र साधन परिवर्तनलाई नै महान् उपलब्धिका रूपमा वर्णन गर्ने प्रयास हुँदै आएको उनको भनाइ छ ।उनले देश पराईहरूको खेल मैदान बनिसकेकाले हरेक नेपालीले खतराको अनुभूति गरिरहेको उल्लेख गरेका छन् ।
राष्ट्रियताका आधारहरूमाथि प्रहार भई देशको अस्तित्वसमेत सङ्कटमा परेको अवस्थामा एकताको महत्त्व र पृथ्वीनारायण शाहका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको उनले उल्लेख गरेका छन् ।














