एमाले अझ शक्तिशाली हुने पोखरेलको दाबी
भक्तपुर/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले थप शक्तिशाली र ऊर्जावान् पार्टी भएर अगाडि बढ्ने बताएका छन् ।
एमाले जिल्ला कमिटी भक्तपुरको आठौँ जिल्ला अधिवेशनको शुक्रवार उद्घाटन गर्दै गर्दै उनले अबको तीन तहको निर्वाचनपछि एमाले थप शक्तिशाली बन्ने बताएका हुन् ।
’एमाले अबको तीन तहको चुनावपछि मुलुकको सबैभन्दा ठुलो, शक्तिशाली पार्टी बनेर उदाउने छ, एमालेको विकास र समृद्धिको अभियानलाई फेरि अगाडि बढाउने छ,’उनले भने ।वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रूपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको दाबी गरे ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले केपी ओलीले सरकारको नेतृत्व गरेका बेलामा भक्तपुरको विकासले गति लिएको दाबी गरेका थिए ।
एमाले केन्द्रीय सदस्य एवम् भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्रले एमालेलाई भक्तपुरमा पहिलो शक्ति बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।














