पाण्डेको उजुरी निर्वाचन आयोगबाट खारेज
काठमाडौँ/ विवेकशील साझा पार्टीबारे निर्णय पुनरावलोकन गर्न मागसहित तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी निर्वाचन आयोगले खारेज गरिदिएको छ ।विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले पुनरावलोकनको लागि उजुरी दिएकोमा आयोगको पुस १२ गते बसेको बैठकले पाण्डेको विपक्षमा निर्णय गरेको हो ।
पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा कृते गरेको जस्ता आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिएका थिए ।आयोगले आफ्नो सो निर्णय नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र विवेकशील साझा पार्टीको साबिकको विधान २०७४ को पहिलो संशोधन बमोजिम नै रहेको ठहर गरी पाण्डेको निवेदनमा थप कारबाही आवश्यक नरहेको भन्दै खारेज गरिदिएको हो ।
आयोगको यो निर्णय सहित तत्कालीन विवेकशील नेपाली दलको परिवर्तनको मुद्दा ओझेलमा परेको छ । समाज परिवर्तन गर्ने उद्देश्य सहित राजनीतिमा प्रवेश गरेका उत्साही युवाहरूको जमात विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रको प्रतिगमनकारी सोचको सिकार भएको धेरै राजनीतिक विश्लेषकको ठहर छ ।










