कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम
काठमाडौं/ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ । प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि साेमबार दोस्रो केन्द्रीय कार्यसमिति बैठक बसेको हो । केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको थियो ।
पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगरमा बसेको बैठकले १२ माघमा गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यबद्ध ढङ्गले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन आह्वान गरेको छ ।
सोमबार नै सत्तारुढ गठबन्धनका पाँच दलको बैठक बसेर पार्टीको सबै पार्टीको बिचमा राष्ट्रिय सभा सदस्य पद बाँडफाँड गरेको थियो ।














