पार्टी फुटाएर समाजवाद नआउने ओलीको दाबी
काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर समाजवाद नआउने टिप्पणी गरेका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिस्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने ओलीको भनाइ थियो ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गए राति भर्चुअल माध्यमबाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले स्थिरता र सुशासन नचाहने तत्त्वले एमालेको सरकार ढालेको आरोप लगाए ।
नयाँ वर्षमा नयाँ जनमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्ने दाबी गर्दै ओलीले त्यसमा सघाउन प्रवासी नेपालीलाई आग्रह गरे ।










